Friday, November 21, 2014
Sunday, November 16, 2014
पर्यटकको पर्खाइमा मिक्लाङ डाँडा
![]() |
ईश्वर भट्टराई |
यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरूङ्गीहरूको बासस्थान लालीगुराँस, निगलो, जुडीबुटी अनि मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नास हुने आफ्नो आयस्रोत बढ्ने, सन्तान नहुनेलाई सन्तान हुने बताइन्छ । अझ भन्नुपर्दा प्राकृतिक सौन्दर्यको भण्डार मिक्लाजुङको वर्णन गरेर साध्ये छैन ।
मोरङ जिल्लामा थुप्रै पर्यटकीय सम्पदा रहेपनि आन्तरिक व्यवस्थापन को अभाव, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयको निष्क्रियता, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण पर्यटकीय क्षेत्र ओझेलामा पर्दै आएका छन् । जसअनुसार, प्रचुर पर्यटकीय सम्भावना बोकेको रमणीय स्थल मिक्लाजुङ प्रचारप्रसारमा लागेको वर्षाै बितिसक्दा समेत पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । जिल्ला सदरमुकाम विराटनगरदेखि पूर्वउत्तरमा अवस्थित समुद्री सतहदेखि दुई हजार ४ सय मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो ।
सगरमाथा, कञ्चनजंगा लगायतका हिमशृङ्खला तथा पूर्वका १३ वटा जिल्ला, एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । यहाँबाट मेघ गर्जेको आकाशमा हैन मिक्लाजुङको फेदीमा सुनिन्छ । यो गड्याङ गुडुङको आवाजले हामी आकाशमा त पुगेका छैनौं वा स्वर्ग भनेकै यही हो कि जस्तो लाग्दछ । विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको भए पनि विराटनगरबाट उर्लाबारीको किसान चौकबाट उत्तर लाग्ने टाँडी–रमिते ग्राभेल सडक हुँदै करिब २७ किलोमिटर दूरीमा रमितेखोला पुग्न सकिन्छ । रमितेखोला गाविस भवन रहेको (बैकुण्ठे) आइतबारे डाँडाबाट वडा नं. ३ जौवारी हुँदै करिब २० किलोमिटर उत्तर पूर्व पैदल जादाँ मिक्लाजुङ पहाडको डाँडा पुग्न सकिन्छ ।
चौबिसै घण्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्था एवम् दृश्यावलोकनबाट लोभिने गरेको पत्रकार घनश्याम भण्डारीले बताउनुभयो । पत्रकार भण्डारीका अनुसार वर्षात्को समय होस् वा हिउँदको समय वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने हुनाले यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण छ । उहाँ भन्नुहुन्छ, ‘एकै ठाउँबाट एकसाथ १४ जिल्लाको अवलोकन गर्नसकिने मिक्लाजुङ दृश्यावलोकन का साथै पदयात्रा समेतका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।’ अत्यन्त रमणीय प्राकृतिकस्थल भएर पनि अत्यावश्यक पूर्वाधार एवं उचित प्रचारप्रसारका अभावमा ओझेलमा परेको सो स्थानको विकास गर्नसके यसले पर्यटन क्षेत्रमा नयाँ आयाम ल्याउनेमा दुईमत नरहेको स्थानीय टिका राईले बताउनुभयो ।
समुन्द्री सतहबाट करिब २ हजार ४ सय मिटर उचाईमा अवस्थित मोरङ, धनकुटा, पाँचथर, इलाम जिल्लाको संगम स्थल मिक्लाजुङबाट पदयात्राका लागि मार्गहरूको समेत विकास गर्न सकिन्छ । मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित अति प्राचीन एवं ऐतिहासिक धार्मिकस्थल चमेरे ओढार अर्काे धार्मिक गन्तव्य स्थल हो । किम्बदन्ती अनुसार पाण्डपहरू गुप्तवास जाँदा आफ्ना हतियारहरू महादेवलाई पुकारेर महादेवको आज्ञाले एउटा ठूलो ढुंगा शक्तिबाट चार कोठा भई भित्रभित्रै भ¥याङ समेत बन्न गएर ढुंगाको टुप्पोसम्म निक्लिन सकिने र प्रवेशद्वार एक मात्र भएको त्यही ढुंगाको ओढारमा आफ्नो हातहतियार राखेका थिए । सस्त्रअस्त राखेर बाहिरपटी एउटा मूर्दा झुड्याई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्न गएको भन्ने विश्वास चल्दै आएको छ । जुन अहिले चमेरे ओढारका नामले परिचित छ । यतिमात्र हैन महादेवले मिक्लाजुङ चुचुरोबाट महाकाली, महादुर्गा रमहासरस्वती देवीलाई नेपालको पूर्व खण्ड देखाई तिमीहरू यही मिक्लाजुङमा विराजमान गरी पूर्वी नेपालमा संरक्षण गर्नु र म नेपालको मध्य काठमाडौंको बागमतिको किनारमा विराजमान गरी पशुपतिनाथको नामले चिनी नेपाल राष्ट्रको संरक्षण गर्नेछु भनी महाकाली, महादुर्गा र सरस्वतीलाई अह्राएर गएको बताइन्छ । उता धार्मिक पक्षमै जोडिएको अर्काे आश्चर्यजनक विशेषता पनि यहाँ छ । यहाँ खडेरी लाग्दा र वर्षायाम शुरू हुँदा पनि तोप पड्केको आवाज गाउँन थाल्दछ ।
भू–धरातल विकटता र मौषम प्रतिकूलताका कारणले पर्यटकीय स्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाहरूका बासिन्दाहरूका लागि परिचित हुँदा हुँदै पनि यो स्थल ओझेलमा रहेको छ । यो पहाड मोरङ जिल्लाको उत्तरी पूर्वको अन्तिम सिमा मात्र नभएर रमितेखोला गाविसको पनि उत्तरी सीमाना रहेको छ । गाविसको सीमा अवस्थाको दृष्टिकोणले उत्तरी पश्चिमी भागमा धनकुटा जिल्लाको ६ नं. बधबारे गाविस उत्तरी भागमा पाँचथर जिल्लाको लिम्बा गाविस र पूर्वी भागमा इलाम जिल्लाको साक्पारा गाविसहरू छन् । रमितेखोला गाविस वडा नं. ३ स्थित पर्ने यो मिक्लाजुङ डाँडा पथरिलो चट्टानी भागले बनेको डाँडा माथिको वरिपरी खसुर डाले घाँस र लालीगुराँसको जंगलको बीच रहेको छ ।
यति मात्रै हैन यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरूङ्गीहरूको बासस्थान लालीगुराँस, निगलो, जुडीबुटी अनि मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नास हुने आफ्नो आयस्रोत बढ्ने, सन्तान नहुनेलाई सन्तान हुने बताइन्छ । अझ भन्नुपर्दा प्राकृतिक सौन्दर्यको भण्डार मिक्लाजुङको वर्णन गरेर साध्ये छैन ।
यसरी आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा पर्यटकको नजर नपर्नु दुर्भाग्य हो । मिक्लाजुङ क्षेत्र मात्र होइन, मोरङका अन्य क्षेत्रहरू पनि पर्यटकको पर्खाइमा छन् । त्यसैले पर्यटन विकासका लागि गुरूयोजनामा प्राथमिकता निर्धारण गरेर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने बेला आएको छ ।
ishwary.url@gmail.com
कसरी रोक्ने महिला हिंसा ?
अपराधिक मनोबृत्तिका मानिसले नैतिकता गुमाउँदै जादा सुन्दै आङ नै जिरिङ हुने खालका घटना घट्न थालेका छन् । यो समग्र नेपालीका लागि लज्जित विषय हो । तसर्थ सर्वप्रथम घरघरमा विवेकशील, व्यावहारिक र नैतिक शिक्षा जरूरी छ र हिंसा रोक्नमा टेवा पु¥याउँछ ।
विराटनगर÷हिंसारहित समाजको परिकल्पना गरिएतापनि महिलामाथि अपमान, बर्बरता, ज्यादतीपूर्ण तथा हत्याका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । कतै बाबुबाटै छोरी बलात्कार त कतै सामूहिक बलात्कारबाट मारिएको खबर छ भने कतै दाइजोको निहुँमा मानसिक, शारीरिक हुँदाहुँदा हत्या नै हुने गरेको छ । यी र यस्ता घटनाले हाम्रो समाज कुमार्गतर्फ मोडिएको छ भन्ने प्रष्ट देखिन्छ ।
फितलो कानूनी व्यवस्था, अपराधको राजनीतिकरण, महिला मैत्री अनुसन्धान पद्दतिको विकास हुन नसक्नाले पनि महिला हिंसाका घटनाले निरन्तरता पाइरहेको अवस्था छ ।
देशैभर महिला हिंसाको घटनाले निरन्तरता पाईरहेका समाचारहरू सार्वजनिक भइरहदा मोरङ जिल्लामा पनि यस्ता घटनाले निरन्तरता पाईरहेका छन् । यसैसाता मोरङको दर्वेशा–४ दौलतपुरमा आफ्नै १५ वर्षीय छोरी जबरजस्ती करणी गरेको आरोपमा ४० बर्षीय रोहित विश्वकर्मा पक्राउ परे । यस्तै, गत कार्तिक १० गते मीरादेवी झालाई भने जति दाइजो नल्याएको निहुँमा कुटपिट गरी हत्या हुन पुग्यो । १२ वर्षअघि विवाह गरेकी मीरादेवीलाई परिवारले मानसिक तथा शारीरिक यातना दिने गरेको समेत खुल्न आएको छ । उता मोरङको टाँडीमा परपुरूषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा एक महिला घरको न घाटको भइन् । परिवारले घर निकाला गरेपछि उनी अहिले माइतीको श्ररणमा छिन् । यी त प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय घटेका घटना प्रकृति हेर्दा महिलाहरू आफ्न्त, नजिकका नातेदार र छिमेकीबाटै पीडित बन्ने गरेका छन् । यस्तै, महिला मात्र होइन कलिलै उमेरका बालक समेत यौन हिंसाको शिकार बन्ने गरेका छन् ।
पछिल्लो पटक महिला हिंसाका घटना श्रृंखलाबद्ध रूपमा सञ्चारमाध्यममा आइरहेका छन् । जसले गर्दा हिंसा बढेकै हो वा सञ्चारमाध्यममा आजभोलि यसले अलि स्थान पाउन थालेको हो । यसै भन्न सकिदैन । साँच्चै हिंसा बढेकै हो भने वर्षौंदेखि महिलाको हितका लागि कार्यरत देशीरविदेशी संघ, संस्था, क्लब, महिला समूहको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उब्जिएको छ । हिंसा बढ्दै जानु भनेको उनीहरूको काम प्रभावकारी नहुनु हो तसर्थ विवेकशील नागरिकले महिला अधिकार, मानवअधिकार, समानता, एवं स्वतन्त्रताका नारा घन्काएर नथाकेका महिलाको हकहित स्थापित गर्न खोलिएका संघसंस्थाको कामकारबाहीप्रति पनि प्रश्न उब्जाएको छ ।
तारे होटलमा महिला हिंसाका विषयमा बहस गरेर, कागजमा कानूनी व्यवस्था बनाएर तथा ठूलो स्वरमा चर्का भाषण गर्दैमा महिला हिंसाको रोकथाम हुन सक्दैन । यहाँ, भाषणमा महिला अधिकारको कुरा गर्नेबाटै महिला हिंसा घटेका प्रशस्त उदाहरण छन् । समाजसेवीको बिल्ला भिर्दैमा र उच्च सरकारी ओहदामा काम गरेकै आधारमा महिला हिंसाको बिरोधी र महिला अधिकारको पक्षपाती हो भन्न सकिदैन । असली महिला हिंसा बिरोधी त्यो हो जसले ब्यवहारिक रूपमै महिलाको सम्मान गर्दछ । सबै महिलाको इज्जत र आदर गर्दछ । समाजमा घटिरहने महिला हिंसाका घटनालाई कानूनी दायरामा ल्याई अपराधीलाई कानून बमोजिमको कारवाही गराउने भन्दा पनि पीडक पक्षले धाक धम्की, पैसाको लेनदेनका माध्यमबाट घटनालाई ढाकछोप गर्ने अपराधिक मनोबृत्तिले प्रोत्साहन पाएको छ । जसले गर्दा घटनामा कमी नआएको बुझिन्छ । समाजमा ठूलाबडा भनाउदा र कतिपय घटनामा प्रहरी समेतले अपराधी लाई कानूनी दायरामा ल्याउने भन्दा पनि घटनालाई गुपचुप राख्ने र जघन्य फौजदारी अपराधलाई पनि पैसामा मिलाउन खोज्ने प्रबृत्तिले हिंसाले प्रश्रय पाउँदै आएको छ । अपराधिक मनोबृत्तिका मानिसले नैतिकता गुमाउँदै जादा सुन्दै आङ नै जिरिङ हुने खालका घटना घट्न थालेका छन् । यो समग्र नेपालीका लागि लज्जित विषय हो । तसर्थ सर्वप्रथम घरघरमा विवेकशील, व्यावहारिक र नैतिक शिक्षा जरूरी छ र हिंसा रोक्नमा टेवा पु¥याउँछ । साथै महिला हिंसाका घटना न्यूनीकरणका लागि कडा नीति, नियम र कानुनको उत्तिकै खाँचो छ । अनिमात्र हिंसाको जड हराउँदै जाने हो कि ?
Subscribe to:
Posts (Atom)