ATTACH THE HEAD HERE

Sunday, September 28, 2014

समृद्ध नेपाल पर्यटन विकासको आधार

Ishor Bhattarai




यूएनडब्लुटीओ को तथ्यांकअनुसार नेपालमा पर्यटनको माध्यमबाट एक लाख २० हजारले मात्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । अर्काेतर्फ १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०११ मा राजनीतिक अस्थिरताका कारण ७ लाख पर्यटक मात्र नेपाल आएका थिए । यसरी पर्यटन क्षेत्रको प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकमा सोचेअनुरूपको पर्यटक भित्र्याउन नसक्नु र रोजगारीको अवसर सृजना गर्न नसक्नु विडम्बना नै बनेको छ ।




सेक्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हरेक वर्ष पर्यटनसम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिन्छ । 
पाँच दशकअघिदेखि नेपालमा पर्यटनको विकास शुरू भएको मानिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाल पर्यटनका लागि आशलाग्दो गन्तव्यका रूपमा चिनिन्छ । यहाँ रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले पर्यटन विकासका लागि प्रचुर सम्भावना बोकेको छ । यही विविध सम्पदाले धनी रहेको हाम्रो मुलुकमा पर्यटनको विकास गर्न सके मुलुक आर्थिक समृद्धितर्फ जाने निश्चित छ । तर, हामीसँग भएको यो अथाह सम्पदाको उचित सदुपयोग गर्न नसक्दा हामीले पर्यटन क्षेत्रबाट निश्चित लाभ लिन भने सकिरहेका
छैनौं ।
संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन(यूएनडब्लुटीओ)ले सहस्राब्दी विकासको प्रमुख लक्ष्य हासिल गर्न ‘एक अर्ब पर्यटक भित्र्याउदा एक अर्ब अवसर’ भन्ने नारालाई अघि सारेको थियो । पर्यटन विकासलाई सशक्त माध्यम बनाएर सन् २०१५ सम्म नेपाललगायत विश्वव्यापी रूपमा पर्यटकको संख्या एक अर्ब पु¥याउने र एक अर्ब अवसर सृजना गर्ने लक्ष्य लिएको थियो । यसको मुख्य उद्देश्य पर्यटन विकास माध्यमबाट गरिबी न्यूनिकरण गर्नु नै हो । तर, हाम्रो मुलुकमा यो कदमप्रति खासै चासो दिइएको देखिदैन । जसका कारण युवाहरू रोजगारीका लागि विदेशी भूमिमा श्रम तथा पसिना बगाउन बाध्य छन् । यहाँ रोजगारीकै लागि युवाहरू दैनिक भौतारिनु परेको तितो यथार्थ छदैछ । यूएनडब्लुटीओ को तथ्यांकअनुसार नेपालमा पर्यटनको माध्यमबाट एक लाख २० हजारले मात्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । अर्काेतर्फ १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०११ मा राजनीतिक अस्थिरताका कारण ७ लाख पर्यटक मात्र नेपाल आएका थिए । यसरी पर्यटन क्षेत्रको प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकमा सोचेअनुरूपको पर्यटक भित्र्याउन नसक्नु र रोजगारीको अवसर सृजना गर्न नसक्नु विडम्बना नै बनेको छ ।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले धनी मानिएको हाम्रो मुलुकमा विश्वमा नै दुर्लभ मानिएको हिमाल, पहाड तथा तराईमा भिन्नाभिनै हावापानीयुक्त भूमि रहेका छ । जसले गर्दा तराई, पहाड र हिमालमा मौसम अनुरूपमा वनस्पति, जीवजन्तु रहेका छन् । यस्तै विश्वको सर्वाेच्च शिखर सगरमाथालगायत अन्य अनगिन्ति हिमशृंखला, सूर्याेदय तथा सूर्यास्त देखिने अन्तु डाँडा, विश्वमा नै अग्लो स्थानमा रहेको तिलिचोलगायत अन्य असंख्य तालहरू, होचो स्थानमा रहेको अरूण उपत्यकालगायत प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यस्तै विभिन्न प्रजातिका चराहरू, जनावर तथा वनस्पतिले जीव, जनावर तथा वनस्पति विज्ञानका लागि पनि प्रयोगशालाका रूपमा मान्न सकिन्छ । यहाँ विभिन्न देशबाट विद्यार्थी, वैज्ञानिक तथा विशेषज्ञहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । यस्तै, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दू धर्माबलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, हिन्दू र बौद्ध धर्माबलम्बीको पवित्र स्थल हलेसी महादेव (खोटाङ), जनकपुरस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारीलगायतले धार्मिक पर्यटनका लागि परिचित छ । यसैगरी विश्वमा नै साहसिक खेलका रूपमा भोटेकोशीको बन्जी जम्प, चितवनमा हुने हात्तीपोलो, एभरेष्ट म्याराथन, रक क्लाइभिङ, ट्रेकिङ, राफ्टिङलगायतका खेलबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सकिने प्रचुर सम्भावना रहेको छ । यति हुँदा हुँदै पनि पर्यटनको विकासले ठोस गति लिन सकिरहेको छैन । एकातर्फ पर्यटन व्यवसाय सीमित शहरमा मात्र केन्द्रित छ । जसले गर्दा केही प्रचुर पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू अझैं पनि ओझेलमा नै पर्दै आएका छन् । ७५ ओटै जिल्ला प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाले अटल मानिन्छन् । अर्काेतर्फ पूर्वाधार निर्माण तथा जनसहभागिता पनि न्यून नै छ । तर, पर्यटन विकासका लागि प्रयासहरू नभएका पनि होइनन् । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कै लागि पूर्व मेचीदेखि महाकालीसम्म महोत्वको लहर नै चल्ने गरेको छ । जसमा निश्चित व्यक्तिभन्दा अन्यले उल्लेख्य लाभ बटुल्न सकेको पाइदैन । यसले गर्दा पर्यटन क्षेत्रको विकासका लागि उपयुक्त ढंगले प्रबद्र्धन गरी प्रचारप्रसार गरे मुलुकको पर्यटन विकासले तीब्र फड्को मार्ने निश्चित देखिन्छ । पर्यटकीय सम्पदालाई उचित रूपले सदुपयोग गर्न सके प्रचुर सम्भावना बोकेका क्षेत्रबाट निश्चय नै लाभ लिन सकिने देखिन्छ । यसका लागि प्रचारप्रसार, पूर्वाधार विकास तथा जनसहभागितामा जोड दिनु आवश्यक छ । तबमात्र पर्यटनबाट नै मुलुक समृद्ध बन्ने देखिन्छ । 

दुर्घटनाका घाइतेलाई उपचार नै नगरी डिष्चार्ज

उर्लाबारी ÷प्रशासन र प्रहरीको आडमा दुर्घटनामा गम्भीर घाइतेका आफ्ना बुवाको उपचार नै नगरी अस्पतालले डिष्चार्ज दिएको भन्दै मोरङ बयरवन –७ का छवि धिमालले सहयोगको लागि मिडिया र अधिकारकर्मीहरू गुहार्नु भएको छ । आज विज्ञप्ति सार्वजनिक गर्दै उहाँले सहयोगको याचना गर्नु भएको हो ।

मोरङको कानेपोखरी रंगेली सडकको वरगाछी–रमाइलो खण्डमा सवारी चालक अनुमति पत्र समेत नभएका बयरवन ८ का हरि अधिकारीले गाडी सिक्ने क्रममा गत बुधवार वयरवन–७का जगदिश धिमाल गाडीले घिसारेर गम्भीर घाइते बनाएको थियो । को १ च ५८७३ नं.को नानोे कारले सडक किनारमा हिडिरहेका धिमाललाई ५०मिटर घिसारेर गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् ।तर अधिकारीका आफन्तले तत्काल प्रहरीमा शान्तिराम अधिकारीले सवारी साधन चलाउँदा असावधानी बस दुर्घटना भएको गलत सूचना दिई अधिकारीलाई भगाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–अस्पताल भर्ना भएको दिन न्यूरो डाक्टरहरूले ३० दिन अस्पतालमा उपचार गर्नु पर्ने सुझाएका थिए । हाल आएर डिष्चार्जको तयारी भइरहेको
छ ।

दुर्घटना भए लगत्तै आफूहरू बाबूलाई बचाउन अस्पताल लागेकोले कसले दुर्घटना गराएको भन्ने तिर आफूहरू नलागेको छवि धिमाल बताउँनु हुन्छ । सुरुमा पीडक पक्षले प्रहरी समक्ष उपचार गरिदिने भने पछि कानूनी उपचारका लागि कुनै उजुरी नगरेको छविले बताउनु भयो । तर,एकाएक डिष्चार्जको कुरा आएपछि शुक्रबार नै इलाका प्रहरी कार्यलय पथरीमा किटानी जाहेरी गरेको पििडतकी बुहारी विमला धिमालले बताउनु भयो । आट्र्स ब्यवसायी  धिमालले कमजोर आर्थिक अवस्थाका कारण आफ्नो परिवारलाई प्रहरी र अस्पतालले असहयोग गरेको गुनासो गर्नुभयो । 

Thursday, September 25, 2014

छात्रा पदकबाट विभुषित रेनुका कार्की

गोविन्द पोखरेल
                                          सफलताको पाइला    


‘मैले धान फलाउनका लागि पढेको होइन, कसरी धान फलाइन्छ भन्ने कुरा अरूलाई सिकाउनका लागि पढेकी हुँ । अबका दिनहरूमा धान फलाउनका लागि खेतमा मात्र नभएर घरको छानामा पनि फलाउन सकिन्छ ।’



समाजमा आफूलाई स्थापित गराउने काम गाहै्र छ । महिलाको कुरा गर्ने हो भने, त झनै कठिन हुन्छ । समाजमा लैगिंक, जातीय तथा शारीरिक रूपमा उत्पीडनका घटना विद्यमान छन् । यी यावत कुरालाई पन्छाउँदै सफलता चुम्नु आफैंमा गर्वको कुरा हो । यस्तै, गर्विलो बनेकी छन्, उदयपुर गाईघाटकी रेनुका कार्की ।
हाम्रो समाजमा नारीले पढेर के नै गर्छे र ? भन्ने प्रश्न तेर्साउने मानिसहरू  प्रशस्तै भेटिन्छन् । अझ झन्, नारीको कृषि क्षेत्रमा के काम भन्नेहरू पनि छदैछन् । तर, यी प्रश्न तेर्साउनेलाई एकपटक सोच्न बाध्य बनाएकी छन्, रेनुकाले । २० वर्षीया रेनुकाले उर्लाबारी–६ मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानबाट ३ वर्षे कृषि विज्ञान (आइएसस्सी)मा उत्कृष्ठ अंक ल्याएर विभुषित भइन् । आमा मधु र बुबा सिताराम कार्कीकी कान्छी छोरी रेनुका मेधावी छात्राका रूपमा चिनिन्छिन् । पढाइको उनको लगावले गर्दा गत भाद्र १२ गते शिक्षा दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिबाट नेपाल छात्रा विद्या पदकबाट विभुषित भएकी हुन् ।
विगतमा प्राविधिक विषय अन्तरगतको कृषि विज्ञान पढ्छु भन्दा गाउँलेहरूले आपूmलाई हाँसोको पात्रो बनाएका उनी स्मरण गर्छिन् । तर, हाल पदक प्राप्त गरेपछि गाउँमा रेनुकालाई हेर्ने दृष्टिकोण फेरिएको छ । रेनुका भन्छिन्, ‘मलाई मानिसहरू पढेर केही काम छैन भन्थे । तर, आज समयले कोल्टे फेरेको छ । हिजो नपढ् भन्नेहरू मलाई पढ्न प्रेरित गरिरहेका छन्  । यसले मलाई पढेर केही गर्छु भन्ने उर्जा मिलेको छ ।’
प्राविधिक शिक्षा पढ्दा अरूको भरमा पर्नु नपर्ने उदाहरण पेश गर्ने रेनुका प्राविधिक शिक्षा जिविकोपार्जन तथा स्वरोजगार बन्नका लागि उपयुक्त विषय रहेको बताउँछिन् । उनी भन्छिन्,  ‘प्राविधिक विषयबाट केही गर्न सक्ने आत्मविश्वास बढाउन सकिन्छ ।’ कृषि क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो उद्देश्य रहेको बताउने रेनुका क्षेत्रफलले सानो रहेको नेपालमा दुई करोड ६० लाख मानिसलाई पुग्ने गरी खाद्यान्न उत्पादनका निम्ति कृषि क्रान्ति नै प्रमुख आवश्यकता रहेको बताउँछिन् । उनी भन्छिन्, ‘८० प्रतिशत जनता कृषि क्षेत्रमा निर्भर रहेको हाम्रो देशमा खाद्यान्नकै लागि परनिर्भर हुनुपर्छ । त्यसैले कृषि क्रान्ति नेपालका लागि अपरिहार्य छ ।’ कृषि विज्ञान पढ्दा गर्व गर्ने रेनुका आफू धान फलाउनका लागि पढेको नभइ, कसरी धान फलाइन्छ भन्ने कुरा अरूलाई सिकाउनका लागि पढेको बताउँछन् । उनी भन्छिन्, ‘अबका दिनहरूमा धान फलाउनका लागि खेतमा मात्र नभएर घरको छानामा पनि फलाउन
सकिन्छ ।’ आउँदा दिनमा कृषि क्षेत्रमा नवीन सोचका साथ नयाँ आयाम र उचाइँ पुर्याउने लक्ष्य रहेको उनले बताइन् ।
नेपाल छात्रा विद्या पदकबाट विभुषित हुनुअघि उनले यो अवस्थासम्म पुग्छु भन्ने सोच समेत बनाएकी थिइनन् । दिनरात मिहेनत गर्दा यति ठूलो सफलताभन्दा पनि उत्कृष्ट पक्कै हुन्छु भन्ने विश्वास उनमा रहेको थियो । यसबाट आपूmले धेरै सिक्ने मौका मिलेको उनले बताइन् । यो अवस्थामा ल्याउनका लागि आमाबुवा, शिक्षकशिक्षिका, साथीसंगी र परिवारका अन्य सदस्यहरूलाई प्रेरणाको स्रोत मान्ने रेनुकाले मिहेनत र संघर्ष गर्न सके अवश्य पनि सफलता चुम्न सकिने उनी बताउँछिन् । विगतलाई स्मरण गर्दै उनी भन्छिन्, ‘कक्षामा पढाइएको कुराहरू घरमा अध्ययन गर्ने मेरो बानी थियो । नजानेको कुरा आपूmभन्दा सिनियरहरूसँग सल्लाह–सुझाव लिन्थे र पुस्तकालयमा गएर विस्तृत रूपमा पाठ पढ्ने गर्थे ।’ विद्यार्थीका लागि सबै दिन परीक्षा रहेको बताउने रेनुका भन्छिन्, ‘परीक्षामा हामी विद्यार्थीहरूले पढेको कुराहरू एकपल्ट हेर्ने हो, परीक्षाको तयारी त पाठ पढेकै दिन गरिनुपर्छ ।’

Wednesday, September 24, 2014

साक्षरता अभियान र प्रभावकारिता

ईश्वर भट्टराई

सरकारले आर्थिक वर्ष २०६५÷०६६ बाट साक्षता अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म सरकारले अभियानका लागि ६ अर्ब १४ करोड ८९ लाख २५ हजार रूपैयाँ खर्च गरिसकेको छ । साक्षरता अभियानलाई पूरा गर्न सरकारले करोडौ रूपैयाँ लगानी गरेपनि त्यो ‘बालुवामा पानी हालेसरह’ भएको विज्ञहरूको ठहर छ । तर, सरकार भने विगतको तथ्यांकलाई गौरव गर्दै हाल दु्रत गतिमा अभियान सञ्चालनमा छ । जसले गर्दा कतै कागजीरूपमा पूर्ण साक्षर देश घोषणा हुने त होइन भन्ने आशंका पैदा गराएको छ ।







‘शिक्षा एउटा यस्तो चाबी हो जसले स्वतन्त्रतताको सुनौलो ढोका खोल्न सक्छ ।’
                                                                                                         –जर्ज वासिङटन कारभेर

‘यदी कोही नराम्रो बाटोमा हिड्दैछ भने उसलाई सुमार्गमा ल्याउन उत्प्रेरणा होइन, शिक्षा दिनुपर्दछ । शिक्षाबाट नै उसले राय फेर्न सक्छ ।’ 
                                                                                                                        –जीम रोहन

कारभेर र रोहनले भनेझैं परिवर्तनको ढोका खोल्नका लागि शिक्षा नै प्रमुख आधार हो । बाल्मिकी ऋषिले पनि भनेका थिए ‘शिक्षा विनाको मानिस बाँदर जस्तै हुन्छ ।’ हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायतका पक्षको पहिलो र महत्वपूर्ण आधारशिला शिक्षा नै हो । समुन्नत समाज एवम् स्वाबलम्बी र आत्मनिर्भर बन्न शिक्षा नै अपरिहार्य हुन्छ ।

सेप्टेम्बर आठ अर्थात राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस यस वर्षपनि विभिन्न नारा घन्काएर मनाइएको छ । २१ औं शताब्दीको यो पछिल्लो युगमा यो दिवस मनाइराख्दा हामी भने निरक्षरता उन्मूलनका लागि प्रयासरत्त छौं । यो युगमा आएर अक्षर चिन्न र छिचोल्न सिकाउने अभियान आफैंमा विडम्बना र लाजमर्दाे विषय हो । हामीकहाँ शिक्षा दिवस वि.सं. २०३१ सालबाट मनाउन शुरू गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहुन्’ भन्ने उद्घोषका साथ दिवसको थालनी गरेका थिए । तर, चार दशक बित्दापनि हामी अझैं पनि निरक्षरता उन्मूलन अभियानमा नै छौं । शिक्षाको कुरा गर्दा विश्वले व्यवहारिक तथा प्रविधियुक्त शिक्षामा फड्को मारिसक्दा हामी भने उही परम्परगत शिक्षण प्रणालीमा रूमलिइहेका छौं ।

विडम्बना नै मान्नुपर्छ, हामीमा समुन्नत र व्यवहारिक शिक्षाको नारा दशकैंदेखि घन्किएपनि व्यवहारमा आउन सकेको छैन । यहाँ केबल शिक्षामा व्यापारिक प्रतिस्पर्धा मात्र फष्टाएको छ । व्यापारिक हिसाबले शिक्षाको जालो फैलिएपनि त्यो केही सीमित वर्ग, क्षेत्रमा मात्र सीमित छ । ग्रामीण बस्ती तथा गरीबका झुपडीसम्म शिक्षा पुग्न सकेको छैन । २१ औं शताब्दीमा पनि यस्तो अवस्थामा गुज्रनु भनेको नेपाल र नेपालीका लागि हदैसम्मको दुर्भाग्य हो ।
सरकारी तथ्याङ्कअनुसार हाल ३४ प्रतिशत नेपाली निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समूहका साढे ३१ लाख जनसंख्या निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रको तथ्याङ्क छ । उता, नेपालमा हाल १५ वर्षमाथिका करीब ४० लाख नागरिक निरक्षर रहेको जनगणना २०६८ तथा विभिन्न सर्वेक्षणले देखाएको छ । यी तथ्यांकलाई केलाउँदा हामीकहाँ कस्लाई निरक्षर मान्ने र कस्ता किसिमका निरक्षर छन् भन्ने स्पष्ट आधार पनि छैन । सर्वप्रथम निरक्षरको अवस्थालाई वर्गीकरण गरी तल्लो वर्गमा रहेकालाई आधार मानेर अभियान सञ्चालन गर्न सके अपेक्षित लक्ष्यमा पुग्न सकिने थियो कि ? यद्यपि सरकार भने अन्तराष्ट्रिय स्तरमा आफूले गरेको प्रतिबद्धता पूरा गराउन दु्रत गतिमा अभियान सञ्चालनमा छ । सरकारले सन् २०१५ सम्ममा सबैलाई शिक्षा पु¥याउने प्रतिबद्धता गरेको हो । यसैअनुरूप चालू आर्थिक वर्षभित्र देशका १५ देखि ६० वर्ष उमेर समूहका सम्पूर्ण नागरिकलाई साक्षर बनाउने गरी निरक्षरता उन्मूलन वर्षका रूपमा घोषणा गरिसकेको छ ।
सरकारले आर्थिक वर्ष २०६५÷०६६ बाट साक्षता अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म सरकारले अभियानका लागि ६ अर्ब १४ करोड ८९ लाख २५ हजार रूपैयाँ खर्च गरिसकेको छ । साक्षरता अभियानलाई पूरा गर्न सरकारले करोडौ रूपैयाँ लगानी गरेपनि त्यो ‘बालुवामा पानी हालेसरह’ भएको विज्ञहरूको ठहर छ । तर, सरकार भने विगतको तथ्यांकलाई गौरव गर्दै हाल दु्रत गतिमा अभियान सञ्चालनमा छ । जसले गर्दा कतै कागजीरूपमा पूर्ण साक्षर देश घोषणा हुने त होइन भन्ने आशंका पैदा गराएको छ । साक्षर अभियान सकारात्मक भएपनि यति छोटो समयमा यसरी महत्वकांक्षी अपेक्षा राख्नु भने ठीक होइन । यति छोटो समयमा महत्वकांक्षी अपेक्षा राखेर यतिका बजेट खन्याउनुपर्ने औचित्य नै थिएन ।
गत संविधासभाको निर्वाचनमा भएको मतदाता शिक्षालाई नै आधार मान्दा यो सरकारी अभियान पनि कागजी हुने देखिन्छ । सामान्य रहेको मतदाता शिक्षामा दुई छुट्टाछुट्टै मतपत्रमा १÷१ पटक कोठाभित्र स्वस्तिक चिन्ह लगाएर स्वस्तिक छाँप नपोतिने तरिकाले पट्याएर मतपेटिकामा खसाल्न सिकाइएको थियो । यद्यपि मत बदर भने अत्याधिक रह्यो ।

मतदाता शिक्षाका लागि सरकारले करोडौं रूपैयाँ खन्याएपनि त्यो ‘बालुवामा पानी हाले सरह’ बन्यो । सामान्य रहेको मतदाता शिक्षालाई पनि नजरअन्दाज गर्दा हामीकहाँ कस्ता कस्ता निरक्षरता नागरिक छन् भन्ने निक्र्यौल गर्न सकिन्छ । त्यसैले यी नागरिकसमक्ष प्रभावकारी रूपमा साक्षर अभियान पु¥याउन नसके कतै साक्षर अभियान पनि मतदाता शिक्षा जस्तै होला भन्ने नकार्न सकिन्न ।
सर्वप्रथम साक्षरता बन्नकालागि आफैैबाट पनि साक्षर बन्ने जनइच्छा जाहेर हुनुपर्ने हुन्छ । आफूभित्र साक्षर बन्ने इच्छा नै छैन भने अभियान सञ्चालनको कुनै औचित्य नै छैन ।

जनइच्छाको कुरा गर्दा हामीकहाँ २५.२ जनता अझैं गरीबीको रेखामुनी छन् । उनीहरूलाई साँझ बिहान हातमुख जोर्नसमेत धौधौ पर्ने गर्दछ । यस्तो अवस्थामा सरकारले साक्षरता अभियानअन्र्तगत साक्षरता कक्षामा कसरी सहभागी हुन्छन् ? सरकारले साक्षरता कक्षामा सहभागी रहेकामध्येबाट छनोटमा परेको गरीब, दलित, जनजाति, अल्पसंख्यक, द्वन्द्वपीडित महिलाका लागि आयआर्जनका लागि विभिन्न सीपमूलक तालिम दिने पनि भनेको छ । यद्यपि, ग्रामीण तथा दुर्गम भेगका बस्ती तथा झुपडीमा अझैं पनि अभियान गुमनाम नै छ । यो क्षेत्रमा अभियान पुग्छ पुग्दैन बाँकी समय कुर्नै पर्छ ।

दोस्रो अभियानको प्रभावकारिता । अन्तराष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गर्न उक्सिने सरकार अभियान सञ्चालनको दु्रत गतिमा छ । जसले गर्दा अभियानको प्रभावकारीतामा प्रश्न उब्जिएको छ । ‘राजाको काम कहिले जाला घाम’ भनेझैं हामीकहाँ टालटुले काम गरेर सिद्धाउने संस्कार नै बनिसकेको छ । त्यसैले विगतमा सञ्चालित अभियानले कतै यो पनि औपचारिकतामा मात्र सीमित हुने त होइन भन्ने प्रश्न पेचिलो बनेको छ ।

साक्षर अभियानकै कुरा गर्दा सरकारले घर–घरमा रहेका निरक्षर बालबालिकालाई साक्षर बनाउन वर्षेनी विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएको छ । शैक्षिक सत्र शुरू हुने बेलामा हरेक वर्ष भर्ना अभियानलाई सरकारले प्राथमिकतामा राखेपनि दुर्गम तथा ग्रामीण भेगका बस्तीका बालबालिकाको स्कुले साइत भने अझैं जुर्न सकेको छैन । यस्तै, गरिबी तथा विद्यालयमा हुने भेद्भावपूर्ण वातावरणले दलित तथा अन्य पिछडिएका समूदायका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नै छन् । यस्तै, सरकारसँग विद्यालय गएका बालबालिकालाई पनि टिकाइराख्ने कुनै ठोस् प्याकेज छैन । यसले गर्दा भर्ना अभियानमार्फत आएका विद्यार्थी पनि विद्यालय छाड्ने गरेका छन् । ५ देखि १५ सम्मका बालबालिकाका लागि भर्ना अभियान प्रभावकारी बनाउन नसक्ने सरकारको १५ देखि माथिका नागरिकलाई साक्षरता कक्षामा पु¥याउनु फलामको चिउरा चपाए झैं छ । उता, २०६५ सालयता साक्षरता अभियान सञ्चालन भएपनि प्रभावकारिता नभएको र औपचारितामा मात्र सीमित भएको विश्लेषकको ठहर छ । आर्थिक वर्ष २०६५÷०६६ देखि २०६९÷७० सम्ममा ४८ लाख २४ हजार १ सय ६३ जना साक्षर भएको औपाचारिक केन्द्रको तथ्यांकमा छ ।

यसरी साक्षरता अभियानलाई सरकारले प्राथमिकतामा राखेपनि यसको प्रभावकारितामा भने प्रश्न उठ्दै आएको छ । होला सरकारले केही निरक्षरलाई साक्षर बनाउँला । जसले गर्दा केही साक्षर बनेर ल्याप्चे नगलाउलान् । तर, यतिलाई मात्रै गर्व गरेर पनि हुँदैन । केही दिनको कक्षामा अक्षर चनाएर सबै नागरिक सधैं साक्षर रहन पनि सक्दैनन् । सबै नागरिकलाई साक्षर बनाइराख्न सरकारले सर्वप्रथम जगदेखि नै व्यवहारिक र परिणाममुखी शिक्षामा जोड दिनुपर्दछ ।

छोरी भए पुगिसरी

लीलाराज भट्टराई





एलिसा प्रधान इटहरीस्थित कस्तुरी कलेजको बीबीए फोर्थ सेमेस्टरमा पढ्दै छिन्। उनी पढाइमा अब्बल छिन्। एसएलसीमा पनि उनले ८९ प्रतिशत अङ्क ल्याएकी थिइन्। उनी उनका बुबाआमाकी एक मात्र सन्तान हुन्। पढाइमा उनले गरेको प्रगतिमा उनका बुबाआमा औधी खुसी छन्।   उनका बुबा नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्ष याम प्रधान हुन्। प्रधानदम्पती छोरा र छोरी समान हुन् भन्ने मान्यता राख्छ। पत्रकार प्रधान छोरै चाहिन्छ भन्ने पुरातनवादी सोचाइ राख्नुहुँदैन भन्छन्। उनी भन्छन्, 'अहिलेको जमानामा छोरी पो बढी जिम्मेवार देखिन थालेका छन्।'    'एक मात्र सन्तान हुँदा खर्चबर्च पुर्‍याउन पनि सजिलो भएको छ,' प्रधान भन्छन्। 
प्रधान परिवार
राई परिवार
सुप्रिया राई भीमज्वाला राई र चन्द्रा राईका एक मात्र सन्तान हुन्। उनी काठमाडौंमा होटल व्यवस्थापन पढ्दै छिन्।  नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका महासचिव भीम र उनकी श्रीमती चन्द्राले सल्लाह गरेरै एक मात्र सन्तानमा चित्त बुझाएका हुन्। उनीहरू दुवैजनालाई सन्तानमै एक मात्र छोरी भएकोमा गर्व छ।   भीम भन्छन्, 'एक मात्र सन्तान हुँदा हुर्काउने, पालनपोषण गराउने र दीक्षित गराउने काम सजिलो हुन्छ भनेर अर्को सन्तानको रहर गरेनौँ।'आफू र श्रीमती दुवैजनालाई राखेर अर्को सन्तान चाहियो भनेर ससुरालीले दबाब दिएको उनीहरूले बिर्सेका छैनन्।  त्यसो त साथीहरूले पनि एउटा छोरा त चाहिन्छ भनेर जोड गरेका थिए। तर, उनीहरू आफ्नो विचारमा डेग चलेनन्– एक छोरी पुगिसरी।  उहाँहरूलाई कहिल्यै पनि छोराको अभाव महसुस भएको छैन।   भीम भन्छन्, 'छोरा हुनैपर्छ भन्ने पुरानो मान्यता हो। हामीजस्ता युवाले यस्ता रुढिवादी कुरा अस्वीकार गर्नुपर्छ।' छोरालाई बुढेसकालको एक मात्र सहारा भन्ने कुरा राईदम्पती पटक्कै मान्दैनन्। भीमले भने, 'मैले पनि त अहिले बाबुआमा पाल्न सकेको छैन नि। छोरीलाई गर्नुपर्ने दायित्व निर्वाह गरे छोरीले पनि पछि हेर्छन्।' चन्द्रा भन्छिन्, 'माया गर्ने कुरामा छोरी नै अगाडि छन्। छोराले त बरु बेवास्ता गर्ने, घम्क्याउने र दुःख दिने गर्छन्।'    दिनहुँ महँगी बढ्दै गएका बेलामा सन्तानको लालनपालन गर्न र शिक्षादीक्षा दिन छोरी वा छोरा जे भए पनि एक सन्तान मात्र भए पुग्छ भन्ने मान्यता झाँगिँदै गएको छ। नेकपा एमाले सुनसरीका सचिव मोती सुनुवारको पनि एक मात्र सन्तान छोरी छिन्। नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष केशव घिमिरे, मोरङको उर्लाबारीका शिक्षक केशव रेग्मी र मोरङ जाँतेका चन्द्र बुर्जामगर पनि एक छोरीमै रमाएका छन्।    त्यसो त गिरिजाप्रसाद कोइरालाका सन्तानमा पनि एक मात्र छोरी थिइन्। नेकपा एमालेका नेता प्रदीप नेपाल, नेपाली काङ्ग्रेसका नेता शशांक कोइराला, पूर्वअर्थसचिव रामेश्वर खनाल, राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका सन्तानमा पनि एक–एक छोरी मात्र छन्।  बाह्र छोरा, तेह्र नाति बुढाबुढीको धोक्रो काँधैमाथि भनेझैँ धेरै छोराले बुढेसकालमा आमाबाबुको हेरचाह नगर्ने चलन छँदै छ। यसले गर्दा ठाउँठाउँमा वृद्धाश्रम खोल्ने क्रम बढेको छ। छोरा भएका धेरै आमाबाबु वृद्धाश्रममा बसेका छन्। छोराहरूले नहेरेपछि छोरीले आमाबाबुलाई आफ्नै घरमा ल्याएर पालनपोषण गरेका उदाहरण पनि छन्।    छोरा हुँदाहुँदै छोरीको घरमा बसिरहेकी सुनसरीकी एकजना आमा भन्छिन्, 'उहिले हाम्रा पालामा बुढेसकालको सहारा छोरा मात्र हुन्छन् भन्ने थियो, तर अहिले मलाई छोराले भन्दा छोरीले बढी माया दिएर राखेकी छ।' मोरङ उर्लाबारीकी विमला शर्माले आफ्ना चार भाइ दाजुभाइ हुँदाहुँदै पनि बिरामी पर्दा वा केही समस्या हुँदा आफ्ना बुबाआमाको रेखदेख गर्दै आएकी छिन्। उनी भन्छिन्, 'जन्माई, हुर्काई, बढाई, पढाइ गरेर सक्षम बनाउने आमाबुबाको सेवा छोराले मात्र गर्नुपर्छ भन्ने छैन, छोरीले पनि बुढेसकालमा आमाबुबाको सेवा गर्छन्।'    बिहे गरेर घर गएका छोरीले पनि कमाउन थालेपछि आमाबाबुको हेरविचार गर्न थालेका छन्। सुनसरी इटहरीकै प्रताप थापाको परिवारलाई छोरीले विदेशबाट राम्रै सहयोग गरिरहेकी छिन्। थापा भन्छन्, 'अबको जमानामा छोरा र छोरीमा के भेद रह्यो र?' धेरै पढेलेखेका जान्नेबुझ्नेहरू नै पनि वंश धान्न छोरै चाहिन्छ भनेर जिद्दी गरिरहेका पनि छन्। लामो समयदेखि सामन्तवादी चलन रहेकाले छोरै चाहिने मान्यता रहिआएको बताउँछन् संस्कृतिविद् मोदनाथ प्रश्रित।    प्रश्रितका अनुसार सामन्तवादी नेपाली समाजमा लामो समयदेखि छोरालाई सम्पत्तिको उत्तराधिकारी ठानियो र आमाबाबुको पालनपोषण गर्ने जिम्मेवारी पनि उसैको हो भनियो। छोराले बिहे गरेर बुहारी ल्याउने अनि बाबुआमाको स्याहारसुसार गर्ने, छोरीहरू बिहेवारी भएर घर गएपछि पति र ससुराको जिम्मा लिनुपर्ने चलन चलिआयो। कृषि प्रणालीले छोरालाई बढी महत्व दियो।  

बिमल एसियाकै उम्दा खेलाडीः फिफा

असोज ७ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आफ्नो अनलाइन संस्करणमा नेपालका स्टाइकर विमल घर्ती मगरलाई विलक्षण क्षमता भएको खेलाडी भन्दै प्रशंसा गरेको छ ।

फिफाको अनलाइनमा विमलको अन्तरवार्तामा आधारित विश्लेषण प्रकाशित छ ।
विमल सम्बन्धी लेखमा फिफाले विमललाई नेपाली टिमको विलक्षण खेल कौशल भएको प्रतिभावान खेलाडीका रुपमा चित्रित गरेको छ ।

फिफाले विमल सम्बन्धी लेखको सुरुवात नै विमलको स्टारडमको प्रशंगबाट गरेको छ ‘भर्खरै सम्पन्न १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा सहभागी देशका अधिकांश खेलाडीहरु आफ्नो पहिचान बनाउन खेलिरहेका बेला विमल भने पहिले नै एक स्थापित नाम थियो ।’

बेल्जियमको क्लब एन्डरलेक्टको १९ वर्ष मुनिको टोलीबाट व्यवसायिक खेल खेल्ने विमलले एएफसी च्याम्पियनसिप प्रतियोगिताअघि नै महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका खेलाडी भन्दै पिफाले विमलको प्रशंसा गरेको छ । फिफाले विमल सम्बन्धी लेखमा १६ वर्षको कलिलो उमेरमा नै उनले नेपालका सबै उमेर समूह र राष्ट्रिय टिमको हिस्सा बनेको प्रसंग उल्लेख छ । विमलले राष्ट्रिय टिममा डेब्यू गरेको खेलमा नै महत्वपूर्ण गोल गरेका थिए ।

उनले सन् २०१३ को सप्टेम्बरमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले त्यो खेलमा अन्तिम मिनेटमा एक गोल गरेको र त्यही गोलको मद्दतमा नेपाल पाकिस्तानलाई बराबरीमा रोक्न सफल भएको उल्लेख गर्दै फिफाले विमलको खेल क्षमताको प्रशंसा गरेको छ ।

फिफासँगको अन्तरवार्तामा विमलले पाकिस्तान विरुद्धको गोल बारे भनेका छन् ‘मलाई त्यो मेरो पहिलो अन्तराष्ट्रिय गोल गर्दा यो सपना पो हो कि जस्तो लागेको थियो । मैले बारम्बर आफैसँग सोधेँ के मैले साँच्चिकै गोल गरेकै हो त ? म मैदान प्रवेश गर्दा हाम्रो टिम अप्ठ्यारोमा थियो । तर म आफ्नो डेब्यू खेलमा गोल गर्दै टिमलाई सहज अवस्थामा ल्याउन चाहान्थें । मैले प्रहार गरेको बलले गोल रक्षकलाई पन्छ्याउँदै जालि चुमेको त्यो क्षण ऐतिहासिक थियो ।’ फिफाले लेखमा विमलको त्यो गोललाई एक ऐतिहासिक गोल भनेर उल्लेख गरेको छ । मात्र १५ वर्ष ८ महिना ८ दिनको उमेरमा ऐतिहासिक अन्तराष्ट्रिय गोल गर्दै विमल नेपालको कम उमेरमा अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बने ।

विमलले फिफासँगको अन्तरवार्तामा गोल गरेपछिको अनुभव बारेमा भनेका छन् ‘स्टेडियममा रहेका सबै दर्शकहरुले मेरो नाम लिएर हुटिङ गरिरहेका थिए । त्यसमा पनि भोली पल्टको दिन झन सम्झन लायक थियो । हरेक संचार माध्यम र पत्रपत्रिकाहरु मेरो नाम र तस्विरले भरिएका थिए जुन मेरा लागि ठूलो उपलब्धि थियो ।’

महादेशका उदाउँदो उज्ज्वल तारा

फिफाले विमललाई उनको खेल कौशलका आधारमा महादेशीय स्तरमा उज्ज्वल भविष्य भएको खेलाडीका रुपमा चित्रित गरेको छ । १६ वर्ष मुनिको एएफसी छनोट खेलमा विमलले आफ्नो कप्तानीमा गरेको प्रदर्शलाई पनि फिफाले उल्लेख गरेको छ ।

विमलले फिफासँग भनेका छन् ‘काठमाडौंमा भएको छनोट चरणको बहराइनसँगको पहिलो खेलमा म केही नर्भस थिँए, तर दोस्रो खेलसम्ममा मैले आत्मविश्वास बटुलेको थिएँ ।’ छनोट खेलमा नेपाल बहराइनसँग २–० ले पराजित भएको थियो भने इराक लाई २–२ मा रोकेको थियो र तुकिमेनिस्तानलाई ४–० ले पराजित गरेको थियो । विमल प्रतियोगिताका सर्वाधिक गोलकर्ता पनि हुन् । फिफाले हालै भएको १६ वर्षमुनिको एएफसी च्याम्पियनसिपमा नेपालको प्रदर्शन प्रभावशाली भन्दै नेपाली टिमलाई ब्ल्याक हर्सको रुपमा चित्रित गरेको छ । नेपाल समूह चरणबाट माथि जना नसके पनि प्रतियोगितामा प्रभाकारी प्रदर्शनको श्रृंखला भने जारी राखेको फिफाले उल्लेख गरेको छ ।

फिफाले विमाल बारे लेखमा भनेको छ ‘प्रतियोगितमा सहभागि भएका एसियाली राष्ट्रका खेलाडीहरुमा विमल सबैभन्दा खेल कौशलमा माथिल्लो स्तरको खेलाडी हुन् । उम्दा खेलाडी भएकाले उनले अन्तराष्ट्रिय स्तरमा स्थापित हुन खोज्नु स्वाभाविक हो ।’

फिफासँगको अन्तरवार्तामा विमलले आफु व्यवसायीक खेलाडी बन्न चाहेको बताएका छन् । उनले भनेका छन् ‘मेरो लक्ष्य भनेको व्यवसायीक खेलाडीक बनेर युरोपामा खेल्ने हो । म आफुलाई युरोपमा एउटा राम्रो खेलाडीका रुपमा स्थापित गर्न चाहन्छु , यसले अरु नेपाली खेलाडीलाई पनि अवसर प्रदान गर्न सहयोगी बन्ने आश लिएको छु ।’