ATTACH THE HEAD HERE

Wednesday, September 24, 2014

छोरी भए पुगिसरी

लीलाराज भट्टराई





एलिसा प्रधान इटहरीस्थित कस्तुरी कलेजको बीबीए फोर्थ सेमेस्टरमा पढ्दै छिन्। उनी पढाइमा अब्बल छिन्। एसएलसीमा पनि उनले ८९ प्रतिशत अङ्क ल्याएकी थिइन्। उनी उनका बुबाआमाकी एक मात्र सन्तान हुन्। पढाइमा उनले गरेको प्रगतिमा उनका बुबाआमा औधी खुसी छन्।   उनका बुबा नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्ष याम प्रधान हुन्। प्रधानदम्पती छोरा र छोरी समान हुन् भन्ने मान्यता राख्छ। पत्रकार प्रधान छोरै चाहिन्छ भन्ने पुरातनवादी सोचाइ राख्नुहुँदैन भन्छन्। उनी भन्छन्, 'अहिलेको जमानामा छोरी पो बढी जिम्मेवार देखिन थालेका छन्।'    'एक मात्र सन्तान हुँदा खर्चबर्च पुर्‍याउन पनि सजिलो भएको छ,' प्रधान भन्छन्। 
प्रधान परिवार
राई परिवार
सुप्रिया राई भीमज्वाला राई र चन्द्रा राईका एक मात्र सन्तान हुन्। उनी काठमाडौंमा होटल व्यवस्थापन पढ्दै छिन्।  नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका महासचिव भीम र उनकी श्रीमती चन्द्राले सल्लाह गरेरै एक मात्र सन्तानमा चित्त बुझाएका हुन्। उनीहरू दुवैजनालाई सन्तानमै एक मात्र छोरी भएकोमा गर्व छ।   भीम भन्छन्, 'एक मात्र सन्तान हुँदा हुर्काउने, पालनपोषण गराउने र दीक्षित गराउने काम सजिलो हुन्छ भनेर अर्को सन्तानको रहर गरेनौँ।'आफू र श्रीमती दुवैजनालाई राखेर अर्को सन्तान चाहियो भनेर ससुरालीले दबाब दिएको उनीहरूले बिर्सेका छैनन्।  त्यसो त साथीहरूले पनि एउटा छोरा त चाहिन्छ भनेर जोड गरेका थिए। तर, उनीहरू आफ्नो विचारमा डेग चलेनन्– एक छोरी पुगिसरी।  उहाँहरूलाई कहिल्यै पनि छोराको अभाव महसुस भएको छैन।   भीम भन्छन्, 'छोरा हुनैपर्छ भन्ने पुरानो मान्यता हो। हामीजस्ता युवाले यस्ता रुढिवादी कुरा अस्वीकार गर्नुपर्छ।' छोरालाई बुढेसकालको एक मात्र सहारा भन्ने कुरा राईदम्पती पटक्कै मान्दैनन्। भीमले भने, 'मैले पनि त अहिले बाबुआमा पाल्न सकेको छैन नि। छोरीलाई गर्नुपर्ने दायित्व निर्वाह गरे छोरीले पनि पछि हेर्छन्।' चन्द्रा भन्छिन्, 'माया गर्ने कुरामा छोरी नै अगाडि छन्। छोराले त बरु बेवास्ता गर्ने, घम्क्याउने र दुःख दिने गर्छन्।'    दिनहुँ महँगी बढ्दै गएका बेलामा सन्तानको लालनपालन गर्न र शिक्षादीक्षा दिन छोरी वा छोरा जे भए पनि एक सन्तान मात्र भए पुग्छ भन्ने मान्यता झाँगिँदै गएको छ। नेकपा एमाले सुनसरीका सचिव मोती सुनुवारको पनि एक मात्र सन्तान छोरी छिन्। नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष केशव घिमिरे, मोरङको उर्लाबारीका शिक्षक केशव रेग्मी र मोरङ जाँतेका चन्द्र बुर्जामगर पनि एक छोरीमै रमाएका छन्।    त्यसो त गिरिजाप्रसाद कोइरालाका सन्तानमा पनि एक मात्र छोरी थिइन्। नेकपा एमालेका नेता प्रदीप नेपाल, नेपाली काङ्ग्रेसका नेता शशांक कोइराला, पूर्वअर्थसचिव रामेश्वर खनाल, राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका सन्तानमा पनि एक–एक छोरी मात्र छन्।  बाह्र छोरा, तेह्र नाति बुढाबुढीको धोक्रो काँधैमाथि भनेझैँ धेरै छोराले बुढेसकालमा आमाबाबुको हेरचाह नगर्ने चलन छँदै छ। यसले गर्दा ठाउँठाउँमा वृद्धाश्रम खोल्ने क्रम बढेको छ। छोरा भएका धेरै आमाबाबु वृद्धाश्रममा बसेका छन्। छोराहरूले नहेरेपछि छोरीले आमाबाबुलाई आफ्नै घरमा ल्याएर पालनपोषण गरेका उदाहरण पनि छन्।    छोरा हुँदाहुँदै छोरीको घरमा बसिरहेकी सुनसरीकी एकजना आमा भन्छिन्, 'उहिले हाम्रा पालामा बुढेसकालको सहारा छोरा मात्र हुन्छन् भन्ने थियो, तर अहिले मलाई छोराले भन्दा छोरीले बढी माया दिएर राखेकी छ।' मोरङ उर्लाबारीकी विमला शर्माले आफ्ना चार भाइ दाजुभाइ हुँदाहुँदै पनि बिरामी पर्दा वा केही समस्या हुँदा आफ्ना बुबाआमाको रेखदेख गर्दै आएकी छिन्। उनी भन्छिन्, 'जन्माई, हुर्काई, बढाई, पढाइ गरेर सक्षम बनाउने आमाबुबाको सेवा छोराले मात्र गर्नुपर्छ भन्ने छैन, छोरीले पनि बुढेसकालमा आमाबुबाको सेवा गर्छन्।'    बिहे गरेर घर गएका छोरीले पनि कमाउन थालेपछि आमाबाबुको हेरविचार गर्न थालेका छन्। सुनसरी इटहरीकै प्रताप थापाको परिवारलाई छोरीले विदेशबाट राम्रै सहयोग गरिरहेकी छिन्। थापा भन्छन्, 'अबको जमानामा छोरा र छोरीमा के भेद रह्यो र?' धेरै पढेलेखेका जान्नेबुझ्नेहरू नै पनि वंश धान्न छोरै चाहिन्छ भनेर जिद्दी गरिरहेका पनि छन्। लामो समयदेखि सामन्तवादी चलन रहेकाले छोरै चाहिने मान्यता रहिआएको बताउँछन् संस्कृतिविद् मोदनाथ प्रश्रित।    प्रश्रितका अनुसार सामन्तवादी नेपाली समाजमा लामो समयदेखि छोरालाई सम्पत्तिको उत्तराधिकारी ठानियो र आमाबाबुको पालनपोषण गर्ने जिम्मेवारी पनि उसैको हो भनियो। छोराले बिहे गरेर बुहारी ल्याउने अनि बाबुआमाको स्याहारसुसार गर्ने, छोरीहरू बिहेवारी भएर घर गएपछि पति र ससुराको जिम्मा लिनुपर्ने चलन चलिआयो। कृषि प्रणालीले छोरालाई बढी महत्व दियो।  

No comments:

Post a Comment