ATTACH THE HEAD HERE

Sunday, November 16, 2014

पर्यटकको पर्खाइमा मिक्लाङ डाँडा

ईश्वर भट्टराई

यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरूङ्गीहरूको बासस्थान लालीगुराँस, निगलो, जुडीबुटी अनि मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नास हुने आफ्नो आयस्रोत बढ्ने, सन्तान नहुनेलाई सन्तान हुने बताइन्छ । अझ भन्नुपर्दा प्राकृतिक सौन्दर्यको भण्डार मिक्लाजुङको वर्णन गरेर साध्ये छैन ।




मोरङ जिल्लामा थुप्रै पर्यटकीय सम्पदा रहेपनि आन्तरिक व्यवस्थापन को अभाव, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयको निष्क्रियता, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण पर्यटकीय क्षेत्र ओझेलामा पर्दै आएका छन्  । जसअनुसार, प्रचुर पर्यटकीय सम्भावना बोकेको रमणीय स्थल मिक्लाजुङ प्रचारप्रसारमा लागेको वर्षाै बितिसक्दा समेत पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । जिल्ला सदरमुकाम विराटनगरदेखि पूर्वउत्तरमा अवस्थित समुद्री सतहदेखि दुई हजार ४ सय मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो ।
सगरमाथा, कञ्चनजंगा लगायतका हिमशृङ्खला तथा पूर्वका १३ वटा जिल्ला, एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । यहाँबाट मेघ गर्जेको आकाशमा हैन मिक्लाजुङको फेदीमा सुनिन्छ । यो गड्याङ गुडुङको आवाजले हामी आकाशमा त पुगेका छैनौं वा स्वर्ग भनेकै यही हो कि जस्तो लाग्दछ । विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको भए पनि विराटनगरबाट उर्लाबारीको किसान चौकबाट उत्तर लाग्ने टाँडी–रमिते ग्राभेल सडक हुँदै करिब २७ किलोमिटर दूरीमा रमितेखोला पुग्न सकिन्छ । रमितेखोला गाविस भवन रहेको (बैकुण्ठे) आइतबारे डाँडाबाट वडा नं. ३ जौवारी हुँदै करिब २० किलोमिटर उत्तर पूर्व पैदल जादाँ मिक्लाजुङ पहाडको डाँडा पुग्न सकिन्छ ।
चौबिसै घण्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्था एवम् दृश्यावलोकनबाट लोभिने गरेको पत्रकार घनश्याम भण्डारीले बताउनुभयो । पत्रकार भण्डारीका अनुसार वर्षात्को समय होस् वा हिउँदको समय वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने हुनाले यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण छ । उहाँ भन्नुहुन्छ, ‘एकै ठाउँबाट एकसाथ १४ जिल्लाको अवलोकन गर्नसकिने मिक्लाजुङ दृश्यावलोकन का साथै पदयात्रा समेतका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।’ अत्यन्त रमणीय प्राकृतिकस्थल भएर पनि अत्यावश्यक पूर्वाधार एवं उचित प्रचारप्रसारका अभावमा ओझेलमा परेको सो स्थानको विकास गर्नसके यसले पर्यटन क्षेत्रमा नयाँ आयाम ल्याउनेमा दुईमत नरहेको स्थानीय टिका राईले बताउनुभयो ।
समुन्द्री सतहबाट करिब २ हजार ४ सय मिटर उचाईमा अवस्थित मोरङ, धनकुटा, पाँचथर, इलाम जिल्लाको संगम स्थल मिक्लाजुङबाट पदयात्राका लागि मार्गहरूको समेत विकास गर्न सकिन्छ । मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित अति प्राचीन एवं ऐतिहासिक धार्मिकस्थल चमेरे ओढार अर्काे धार्मिक गन्तव्य स्थल हो । किम्बदन्ती अनुसार पाण्डपहरू गुप्तवास जाँदा आफ्ना हतियारहरू महादेवलाई पुकारेर महादेवको आज्ञाले एउटा ठूलो ढुंगा शक्तिबाट चार कोठा भई भित्रभित्रै भ¥याङ समेत बन्न गएर ढुंगाको टुप्पोसम्म निक्लिन सकिने र प्रवेशद्वार एक मात्र भएको त्यही ढुंगाको ओढारमा आफ्नो हातहतियार राखेका थिए । सस्त्रअस्त राखेर बाहिरपटी एउटा मूर्दा झुड्याई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्न गएको भन्ने विश्वास चल्दै आएको छ । जुन अहिले चमेरे ओढारका नामले परिचित छ ।  यतिमात्र हैन महादेवले मिक्लाजुङ चुचुरोबाट महाकाली, महादुर्गा रमहासरस्वती देवीलाई नेपालको पूर्व खण्ड देखाई तिमीहरू यही मिक्लाजुङमा विराजमान गरी पूर्वी नेपालमा संरक्षण गर्नु र म नेपालको मध्य काठमाडौंको बागमतिको किनारमा विराजमान गरी पशुपतिनाथको नामले चिनी नेपाल राष्ट्रको संरक्षण गर्नेछु भनी महाकाली, महादुर्गा र सरस्वतीलाई अह्राएर गएको बताइन्छ । उता धार्मिक पक्षमै जोडिएको अर्काे आश्चर्यजनक विशेषता पनि यहाँ छ । यहाँ खडेरी लाग्दा र वर्षायाम शुरू हुँदा पनि तोप पड्केको आवाज गाउँन थाल्दछ ।
भू–धरातल विकटता र मौषम प्रतिकूलताका कारणले पर्यटकीय स्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाहरूका बासिन्दाहरूका लागि परिचित हुँदा हुँदै पनि यो स्थल ओझेलमा रहेको छ । यो पहाड मोरङ जिल्लाको उत्तरी पूर्वको अन्तिम सिमा मात्र नभएर रमितेखोला गाविसको पनि उत्तरी सीमाना रहेको छ । गाविसको सीमा अवस्थाको दृष्टिकोणले उत्तरी पश्चिमी भागमा धनकुटा जिल्लाको ६ नं. बधबारे गाविस उत्तरी भागमा पाँचथर जिल्लाको लिम्बा गाविस र पूर्वी भागमा इलाम जिल्लाको साक्पारा गाविसहरू छन् । रमितेखोला गाविस वडा नं. ३ स्थित पर्ने यो मिक्लाजुङ डाँडा पथरिलो चट्टानी भागले बनेको डाँडा माथिको वरिपरी खसुर डाले घाँस र लालीगुराँसको जंगलको बीच रहेको छ ।
यति मात्रै हैन यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरूङ्गीहरूको बासस्थान लालीगुराँस, निगलो, जुडीबुटी अनि मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नास हुने आफ्नो आयस्रोत बढ्ने, सन्तान नहुनेलाई सन्तान हुने बताइन्छ । अझ भन्नुपर्दा प्राकृतिक सौन्दर्यको भण्डार मिक्लाजुङको वर्णन गरेर साध्ये छैन ।
यसरी आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा पर्यटकको नजर नपर्नु दुर्भाग्य हो । मिक्लाजुङ क्षेत्र मात्र होइन, मोरङका अन्य क्षेत्रहरू पनि पर्यटकको पर्खाइमा छन् ।  त्यसैले पर्यटन विकासका लागि गुरूयोजनामा प्राथमिकता निर्धारण गरेर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने बेला आएको छ ।

ishwary.url@gmail.com

कसरी रोक्ने महिला हिंसा ?

अपराधिक मनोबृत्तिका मानिसले नैतिकता गुमाउँदै जादा सुन्दै आङ नै जिरिङ हुने खालका घटना घट्न थालेका छन् । यो समग्र नेपालीका लागि लज्जित विषय हो । तसर्थ सर्वप्रथम घरघरमा विवेकशील, व्यावहारिक र नैतिक शिक्षा जरूरी छ र हिंसा रोक्नमा टेवा पु¥याउँछ ।

विराटनगर÷हिंसारहित समाजको परिकल्पना गरिएतापनि महिलामाथि अपमान, बर्बरता, ज्यादतीपूर्ण तथा हत्याका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । कतै बाबुबाटै छोरी बलात्कार त कतै सामूहिक बलात्कारबाट मारिएको खबर छ भने कतै दाइजोको निहुँमा मानसिक, शारीरिक हुँदाहुँदा हत्या नै हुने गरेको छ । यी र यस्ता घटनाले हाम्रो समाज कुमार्गतर्फ मोडिएको छ भन्ने प्रष्ट देखिन्छ ।



फितलो कानूनी व्यवस्था, अपराधको राजनीतिकरण, महिला मैत्री अनुसन्धान पद्दतिको विकास हुन नसक्नाले पनि महिला हिंसाका घटनाले निरन्तरता पाइरहेको अवस्था छ ।

देशैभर महिला हिंसाको घटनाले निरन्तरता पाईरहेका समाचारहरू सार्वजनिक भइरहदा मोरङ जिल्लामा पनि यस्ता घटनाले निरन्तरता पाईरहेका छन् । यसैसाता मोरङको दर्वेशा–४ दौलतपुरमा आफ्नै १५ वर्षीय छोरी जबरजस्ती करणी गरेको आरोपमा ४० बर्षीय रोहित विश्वकर्मा पक्राउ परे । यस्तै, गत कार्तिक १० गते मीरादेवी झालाई भने जति दाइजो नल्याएको निहुँमा कुटपिट गरी हत्या हुन पुग्यो । १२ वर्षअघि विवाह गरेकी मीरादेवीलाई परिवारले मानसिक तथा शारीरिक यातना दिने गरेको समेत खुल्न आएको छ । उता मोरङको टाँडीमा परपुरूषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा एक महिला घरको न घाटको भइन् । परिवारले घर निकाला गरेपछि उनी अहिले माइतीको श्ररणमा छिन् । यी त प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय घटेका घटना प्रकृति हेर्दा महिलाहरू आफ्न्त, नजिकका नातेदार र छिमेकीबाटै पीडित बन्ने गरेका छन् । यस्तै, महिला मात्र होइन कलिलै उमेरका बालक समेत यौन हिंसाको शिकार बन्ने गरेका छन् ।

पछिल्लो पटक महिला हिंसाका घटना श्रृंखलाबद्ध रूपमा सञ्चारमाध्यममा आइरहेका छन् । जसले गर्दा हिंसा बढेकै हो वा सञ्चारमाध्यममा आजभोलि यसले अलि स्थान पाउन थालेको हो । यसै भन्न सकिदैन । साँच्चै हिंसा बढेकै हो भने वर्षौंदेखि महिलाको हितका लागि कार्यरत देशीरविदेशी संघ, संस्था, क्लब, महिला समूहको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उब्जिएको छ । हिंसा बढ्दै जानु भनेको उनीहरूको काम प्रभावकारी नहुनु हो तसर्थ विवेकशील नागरिकले महिला अधिकार, मानवअधिकार, समानता, एवं स्वतन्त्रताका नारा घन्काएर नथाकेका महिलाको हकहित स्थापित गर्न खोलिएका संघसंस्थाको कामकारबाहीप्रति पनि प्रश्न उब्जाएको छ ।

तारे होटलमा महिला हिंसाका विषयमा बहस गरेर, कागजमा कानूनी व्यवस्था बनाएर तथा ठूलो स्वरमा चर्का भाषण गर्दैमा महिला हिंसाको रोकथाम हुन सक्दैन । यहाँ, भाषणमा महिला अधिकारको कुरा गर्नेबाटै महिला हिंसा घटेका प्रशस्त उदाहरण छन् । समाजसेवीको बिल्ला भिर्दैमा र उच्च सरकारी ओहदामा काम गरेकै आधारमा महिला हिंसाको बिरोधी र महिला अधिकारको पक्षपाती हो भन्न सकिदैन । असली महिला हिंसा बिरोधी त्यो हो जसले ब्यवहारिक रूपमै महिलाको सम्मान गर्दछ । सबै महिलाको इज्जत र आदर गर्दछ । समाजमा घटिरहने महिला हिंसाका घटनालाई कानूनी दायरामा ल्याई अपराधीलाई कानून बमोजिमको कारवाही गराउने भन्दा पनि पीडक पक्षले धाक धम्की, पैसाको लेनदेनका माध्यमबाट घटनालाई ढाकछोप गर्ने अपराधिक मनोबृत्तिले प्रोत्साहन पाएको छ । जसले गर्दा घटनामा कमी नआएको बुझिन्छ । समाजमा ठूलाबडा भनाउदा र कतिपय घटनामा प्रहरी समेतले अपराधी लाई कानूनी दायरामा ल्याउने भन्दा पनि घटनालाई गुपचुप राख्ने र जघन्य फौजदारी अपराधलाई पनि पैसामा मिलाउन खोज्ने प्रबृत्तिले हिंसाले प्रश्रय पाउँदै आएको छ । अपराधिक मनोबृत्तिका मानिसले नैतिकता गुमाउँदै जादा सुन्दै आङ नै जिरिङ हुने खालका घटना घट्न थालेका छन् । यो समग्र नेपालीका लागि लज्जित विषय हो । तसर्थ सर्वप्रथम घरघरमा विवेकशील, व्यावहारिक र नैतिक शिक्षा जरूरी छ र हिंसा रोक्नमा टेवा पु¥याउँछ । साथै महिला हिंसाका घटना न्यूनीकरणका लागि कडा नीति, नियम र कानुनको उत्तिकै खाँचो छ । अनिमात्र हिंसाको जड हराउँदै जाने हो कि ?

Tuesday, October 14, 2014

‘अन्तरघातका कारण चुनाव हा¥यौं’


जिन्दगीका स्वर्णिम वर्षहरू वामपन्थी आन्दोलनमा खर्चिनुभएका पुष्प ढकालको नाम नेकपा एमाले मोरङको पार्टीपंक्तिमा अपरिचित होइन । इलामको आमचोक–५ मा बुवा देवीचरण र आमा नरमाया ढकालको सन्तानका रूपमा वि.स.२०२५ सालमा जन्मनुभएका ढकाल १७ वर्षको उमेरबाट राजनीतिमा समर्पित भएको बताउनुहुन्छ । उहाँले मोरङको मधुमल्लास्थित मनोहर जनता उमाविमा विद्यार्थी राजनीतिको कमिटीमा रहेर राजनीतिक जीवनको आरम्भ गर्नुभएको हो । 
उर्लाबारी–४ निवासी ढकाल वडा कमिटीको सह–सचिव, गाउँ कमिटी सदस्य, इलाका कमिटी सदस्य, क्षेत्रीय सह–सचिव हुँदै क्रमशः पार्टी राजनीतिको खुड्किलो चढिरहनुभएको छ । यो बेला एमाले मोरङ ९ नम्बर क्षेत्रीय सचिवको जिम्मेवारीमा रहनुभएका ढकाल एमालेको भावी क्षेत्रीय अध्यक्षका रूपमा चर्चामा हुनुहुन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका ‘खम्बा’ भएकाले पनि ९ नम्बर क्षेत्रको पार्टीपंक्तिमा ढकाल लोकप्रिय हुनुहुन्छ । मधुमल्लाका तत्कालीन गाविस अध्यक्ष काशीनाथ पौडेल र कम्युनिष्ट नेता लव प्रधानको प्रेरणाले वामपन्थी राजनीतिमा होमिनुभएका ढकाल विगतका कमीकमजोरीबाट पाठ सिक्दै नेकपा एमालेलाई मोरङ ९ मा सशक्त, हस्तक्षेपकारी र चुनाव जित्ने मेसिनका रूपमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । प्रस्तुत छ, एमाले क्षेत्रीय सचिव ढकालसँग संवादका अंशहरू ः



हालखबर बताइदिनुहोस् न ?

– पार्टी कार्यालयमा दैनिक उपस्थित हुने, पार्टी कार्यक्रममको आन्तरिक कार्यसम्पादन गर्ने, पार्टी कामको कार्यतालिका बनाउने, कमिटीका बैठकहरुमा सहभागी हुने जस्ता कामहरूमै दिनहरू बितिरहेको छ । 

सकिएको चुनावको नसकिएको सन्दर्भ भनेझैं गत संविधानसभाको निर्वाचनमा ९ नम्बर क्षेत्रमा भएको हारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

– पार्टीले हानुपर्ने अवस्था कुनै पनि कोणबाट देखिएको थिएन । कतिपय नेताहरूले ‘टिकट नपाएको’ अवस्थामा ‘झ्वाँक’ देखाउनाले समस्याहरू उत्पन्न भए । प्रतिस्पर्धी पार्टीले कसरी जित्यो भन्नुभन्दा पनि हामी कहाँ चुक्यौं यसको निर्ममरूपमा समीक्षा भइसकेको छ । मूलतः हामी पार्टी भित्रको आन्तरिक किचलोले नै जित्दाजित्दै हार्न पुग्यौं । ‘अभागीलाई खाने बेलामा रिस उठ्छ’ भनेझैं हाम्रा केही नेताले क्षणिक हर्कत देखाए । जसका कारण हामी दोस्रोमा सीमित हुनुप¥यो । 

पार्टीभित्र अन्तरघात चा“ही कस्ले गरेको थियो ?

– यो वा त्यो व्यक्तिको नाम मैले लिइरहनु आवश्यक देख्दिन । किनभने पार्टीलाई चुनावमा असहयोग गर्नेहरूको सूची हाम्रा इमान्दार कार्यकर्ताले महशुस गरेको अवस्था छ । पार्टीले चुनावमा एउटालाई टिकट दिदाँ अर्को बाउँठिने प्रवृति हावी हुनुलाई नै अन्तरघात भनौं या हारको कारण भनौं, लिन सकिन्छ । यद्यपि म निको भएको घाउलाई कोट्याउन चाहन्न ।

जनस्तरमा लोकप्रिय व्यक्तिलाई पाखा लगाएर तपाईंकै जोडबलले घनश्याम 
खतिवडालाई उम्मेदवार बनाउ“दा मोरङ ९ मा एमालेले हार व्यहोरेको आरोप छ नि ?

– घनश्याम खतिवडालाई कम आँक्न मिल्दैन । उहाँलाई यहाँको ढुंगा माटोले पनि चिन्छ । ती रोल्पाबाट आउने साथी (वर्षमान पुन)ले जित्ने सम्भावनाको त कुरै छाडौं हालका सभासद् डिगबहादुर लिम्बूको पनि ‘ह्याउ’ देखिएकै हो । डिगबहादुर तिनै व्यक्ति हुन्, जसलाई पटक–पटक हाम्रै उम्मेद्वारले लेटाङको स्थानीय चुनावमा धुलो चटाएका थिए । त्यसैले उनी लोकप्रिय हुने कुरै रहेन । हाम्रै कमजोरीमा खेलेर डिगबहादुरले चुनाव जितेका हुन् । जहाँसम्म घनश्याम खतिवडाको कुरा छ, उहाँको जति त्याग, बलिदान र लगानी गर्ने अरू हाम्रो ९ नम्बर क्षेत्रमा कोही पनि नभएको अवस्था थियो । जनस्तरमा भिजेको पनि उहाँ नै हो । 

घनश्याम खतिवडाको बढाईचढाई गरिरह“दा ९ नम्बर क्षेत्रमा एमालेको जननी मानिने काशिनाथ पौडेल र भक्तबहादुर राईको तपाईले अवमूल्यन गरिरहनु भएको त होइन ?

– पछिल्लो समय काशिनाथ पौडेलले सक्रिय राजनीति छाड्नुभयो । यस्तै, भक्तबहादुर राईले पनि संसदीय क्षेत्रमा जाने कुनै इच्छा देखाउनुभएन । उहाँले पनि घनश्याम खतिवडालाई नै समर्थन गर्नुभएको अवस्था थियो । हाम्रा सामु घनश्याम कमरेडको विकल्पै थिएन । 

क्षेत्रीय सचिव भएर चुनावमा पार्टी परिचालन गरिरह“दा तपाईंकै आत्मपरक र मनचिन्ते काम गराई पनि हारको एउटा कारण मान्ने गरिन्छ नि ? 

– चुनावको शिलशिलामा म भन्दामाथि चुनाव हाँक्न सक्ने ‘कमाण्डर’हरू थुपै्र हुनुहुन्थ्यो । अनवरत रूपमा मैले खटेको र भूमिका निर्वाह गरेको कुरा कार्यकर्ताहरूलाई अवगत नै छ । हुनसक्छ, केही–केही साथीहरूले व्यक्तिगत मनमुटावलाई लिएर मलाई आरोप लगाउनु बेग्लै कुरा हो । अहिले पनि म ठोकुवाका साथ भन्छु, यदी कोही कसैले संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्रीय सचिवले ‘अन्तरघात ग¥यो’ भन्ने प्रमाण पेश गर्न सक्छ भने म पार्टीले दिने जस्तोसुकै कारवाही भोग्न तयार छु । यस्ता बेतुकका कुराको प्रमाण दिन पनि म चुनौती दिन्छु । 

आगामी क्षेत्रीय अधिवेशनमा तपाईं अध्यक्षको दाबेदार पनि हो ?

– पहिलो कुरा त, म अहिलेसम्म कुनैपनि कमिटीमा एउटै पदमा बसेर काम गरेको मानिस होइन । एक कार्यकाल एउटा पदमा बसेपछि म त्यही पदलाई दोहो¥याउने गर्दिन । र, मसँग पदमा लिप्त हुने मानसिकता पनि छैन । अब मैले पार्टीको सक्रिय राजनीति गर्नुपर्दा क्षेत्रीय अध्यक्षकै जिम्मेवारीमा रहने हो । मलाईं हाम्रो पार्टीका आम कार्यकर्ताहरूले सो पदमा जिम्मेवारी लिन आग्रह पनि गरिसक्नुभएको छ । म क्षेत्रीय अध्यक्ष हुनु भनेको पार्टीको पद मात्र ओगट्न होइन, मोरङ ९ नं. क्षेत्रमा एमालेको लाल झण्डा फहराउने ‘मिसन’ पनि हो । 

क्षेत्रीय अध्यक्ष त हुने, गर्ने चा“ही के नि ? 

– पार्टीको आन्तिरक जीवनमा गुटउपगुटले जति असर गरेको छ । ती सबै असंगतिलाई जरैदेखि उखेलेर फ्याँक्नु नै मेरो अर्जुनदृष्टि रहनेछ । कार्यकर्ताहरूलाई ऐक्यबद्ध ढंगले पार्टी काममा सक्रिय गराउने, भातृ संगठनलाई चलायमान बनाउने र हरेक सामाजिक संस्थाको नेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्ने मेरो उद्देश्य हुनेछ । पार्टीमा गुटको अन्त्य गर्नेछु । 
९ नम्बर क्षेत्रको भौगोलिक विकटता र यस क्षेत्रको अवश्यकतालाई हेरी विकास निर्माण कार्यमा सक्रियता जनाउने काम हुनेछ । पहाडी गाविसहरू रमिते, वारंगी, भोगटेनी, सिहंदेवी जस्ता विकट ठाउँहरूमा विद्युत, खानेपानी, सञ्चार, सडक, शिक्षा र स्वास्थ्यको पहुँच पु¥याउन पहल गर्नेछु । पार्टीको केन्द्रीय स्तरमा पनि यस क्षेत्रको विकास निर्माणमा भूमिका खेल्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु । म बोलेर होइन, गरेर देखाउँने मानिस हुँ । पछि आपैmँ थाहा पाउनुहुनेछ, पुष्प ढकालले के ग¥यो भनेर । 

पार्टीभित्रको गुटलाई निस्तेज पार्ने कुरा पनि गर्नुभयो, तपाईं आफैं चा“ही ९ नम्बर क्षेत्रमा ओली पक्षको ‘विऊ छर्ने’ व्यक्तिमा पर्नुहुन्छ, होइन ? 

– मन मिल्नेहरू एक ठाउँमा रहनु स्वभाविक कुरा हो । विशेष काम र अवस्थामा समयअनुसार कसैको पक्षधरतामा लाग्नुलाई अन्यथा लिन मिल्दैन । तर, कुनै नेता विशेषको योगदानलाई शिरोपर गरेर हिड्दैमा गुटको राजनीति चाँही गर्नु हुँदैन भन्ने मेरो मान्यता हो । विगतमा के भए, त्यतापट्टि नलागौं । केपी कमरेड हाम्रो पार्टीको सर्वाेच्च नेता भएकोले अब एमालेका सबै कार्यकर्ताहरू संस्थापन पक्षका हुन् । हाम्रो पार्टीको आठौं महाधिवेशनबाट गुटको अन्त्य भइसकेको तपाईं पत्रकारहरूलाई स्पष्ट पार्न चाहन्छु । 

जिल्ला अधिवेशनको प्रतिनिधिमा तपाईंले पटक–पटक हार्नुको कारण चा“ही के होला ? 

– म यो र त्यो पक्ष भनेर निर्वाचनमा लागिन । एउटा पक्षले मलाई गुटगत हिसाबले र अर्को पक्षका साथीहरूले आफ्नो गुटको प्रचार गरी मलार्इं हराइएको रहेछ । बिरालोलाई सबै ढोका बन्द गरेर कुट्दाखेरी त्यसबाट निम्तिने परिघटनाजस्तो मलाई घेराबन्दीमा पारी हराइएको थियो । यसले मलाई राजनीतिमा सचेत हुन पाठ सिकाएको छ । गत महाधिवेशनमा पनि केन्द्रीय स्तरबाटै दुईवटा खेमाको कित्ताकाट भएकोले केही समस्याहरू देखा परे । क्षेत्रीय स्तरका साथीहरूलाई समेटेर लानुपर्ने भएकाले परिवर्तनका लागि मैले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी फिर्ता गर्न बाध्य 
भए । 

उर्लाबारीमा निर्माणाधीन पार्टी भवन यतिबेला अलपत्र परेको छ, किन होला ? 

– निर्माण कार्य शुरूमा तदारूकताका साथ अघि बढेपनि आर्थिक अभावका कारण हाललाई स्थगन मात्र भएको हो । हामी भवन निर्माण कार्यलाई छिट्टै मुर्तरूप दिँदै छौं । 

९ नम्बर क्षेत्रमा एमालेको भातृसंगठनहरूको अवस्था त लथालिङ्ग देखिन्छ नि ?

– पहिलो कुरा हाम्रो पार्टी नेकपा एमालेभित्र थुप्रै जनवर्गीय संगठनहरु क्रियाशील छन् । हामीले सबै ठाँउहरुमा जनवर्गीय संगठनहरु निर्माण गरेका छौँ । हामीले निर्माण गरेका सबै जनवर्गाीय संगठनहरु चलायमन अवस्था मै छन् । कता लथालिङ्ग हुनु र ! हामीसँग ९ नम्बर क्षेत्रमा २ वटा इलाका कमिटी, एउटा नगर कमिटी र ८ वटा गाउँ कमिटीहरू र त्यति नै संख्यामा भातृसंगठनका कमिटीहरू क्रियाशील छन् । ती कमिटीहरूमा नियमित बैठक, जनसंगठनको क्षेत्रीय संगठन विभागले सघन रूपमा अनुगमन गरिरहेको अवस्था छ । 

र, अन्त्यमा.........?

– नजिकिदै गएको दीपावली, नेपाल सम्वत्, छठ पर्वको अवसरमा सम्पूर्ण नेता कार्यकर्र्ताहरुलाई मुलुक निर्माणमा सक्रिय हुन उर्जा मिलोस् भन्ने कामना गर्दै आगामी माघ ८ गते मुलुकले नयाँ संविधान पाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

प्रस्तुति ः ईश्वर भट्टराई÷गोविन्द पोख्रेल

Sunday, October 12, 2014

सभासद्को काम सन्तोषजनक भएन

उसैपनि नेपाली कांगे्रसमा अन्तरकलह नौलो होइन । दोस्रो संविधानसभाको चुनाव सकिएको दश महिना पुगिसक्दा पनि कांग्रेसभित्रको अन्तरसंघर्ष सतहमै प्रकट भएको छ । मोरङ क्षेत्र नं. ९ का निर्वाचित सभासद् डिगबहादुर लिम्बू र सो क्षेत्रका कांग्रेस सभापति खड्ग फागोबीचको अन्तरद्वन्द्वले स्थानीय कांग्रेसजनहरू यतिबेला ‘कुहिरोको काग’झै बनेका छन् । यद्यपि पार्टीभित्रको असन्तुष्टिका बारेमा सभापति फागो भने सन्तुलित टिप्पणी गर्नुहुन्छ ।  
धनकुटाको कुरूलेतेनुपा–३ मा जन्मेहुर्केका फागो पारिवारिक वातावरणका कारण चारतारे झण्डामुनि गोलबद्ध भएको बताउनुहुन्छ । धनकुटा कांग्रेसका नेता समेत रहेका दाजु कमोट फागोको प्रेरणाले किशोरावस्थादेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ । मोरङको कांग्रेस राजनीतिमा दह्रो पकड बनाउनुभएका फागो भातृ संगठन तरूण दल मोरङका उपाध्यक्ष समेत हुनुहुन्छ । वामपन्थीहरूको परम्परागत गढ मानिने मोरङ क्षेत्र नम्बर ९ मा पहिलोपल्ट गत चुनावमा कांग्रेसले जीत हात पार्नुको श्रेय सभापति फागोलाई नै दिने गरिन्छ । प्रस्तुत छ क्षेत्रीय सभापति फागोसँगको संवादका अंशहरू ः–



दिनचर्या कसरी बिताइराख्नुभएको छ ?

भर्खरै नेपालीहरूको महान् चाड बडा दशैँ सकिएको छ । समान्यतयाः दिनचर्या अन्य दिनहरू भैmँ बितिरहेको छ । कार्यकर्तासँगको भेटघाट, स्थानीय समस्याहरूको निराकरण गर्ने, समस्यामा परेकाहरूलाई सरसहयोग गर्ने जस्ता सामाजिक कामहरू आफ्नातर्फबाट भइरहेका छन् । 

कांग्रेसले मोरङ ९ बाट पहिलोपल्ट खाता खोल्नुको रहस्य बताइदिनुहोस् न ? 

१२ औं महाधिवेशनपछिको यो क्षेत्रको क्षेत्रीय समिति हुनअघि पार्टीको मेरूदण्डका रूपमा चिनिने भातृसंगठनहरू निस्क्रिय अवस्थामा थिए । त्यसपछि मात्र यहाँको पार्टीका सबै तह र तप्का सक्रिय भएका हुन् । क्षेत्रभरिका भातृसंगठनहरू चलायमन बनेको कुरालाई कसैले नजरअन्दाज गर्न सक्दैन । कम्युनिष्टहरूले झुटको खेती गर्दै जनतालाई झुक्याउने कार्य गरेकोप्रति कार्यकर्ता र आम जनतालाई जागृत गराउन भूमिका खेले । यस क्षेत्रको विकास किन भएन ? भन्ने कुरा क्षेत्रको पनि दुरदराजका गाउँसम्म पु¥याउन सफल भए । राजनीति ढाँट र छलकपटबाट सम्भव छैन भन्ने कुरा अहिले सबैलाई अवगत भइसकेको छ । फलस्वरूपः हामीले शानदार ढंगले चुनाव जित्यौं । चुनाव कसरी जितिन्छ भन्नुभन्दा पनि  जनतालाई रिझाउन सक्नु नै लक्ष्य प्राप्तिको खुड्किलो हुँदो रहेछ । 

कांग्रेसमा गुट उपगुटको मारमुङ्ग्री चलिरहन्छन्, के भन्नुहुन्छ ? 

गुटउपगुट भन्ने कुरा राम्रो होइन । नेपाली कांग्रेस, कार्यकर्ताको लामो त्याग, बलिदान र संघर्षबाट बनेको पार्टी हो । जहानिया राणाशासनको अन्त्य र पञ्चायती व्यवस्थालाई ढाल्दै यो अवस्थामा आइपुगेको हो । हिजो पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सहासी योद्धाहरूले कहिल्यैपनि पार्टीभित्र गुटउपगुट बनाउनेतर्पm सोचेनन् । पार्टीलाई बिगार्ने र भत्काउन खोज्नुहरू गुटउपगुट खडा गरेर पार्टी चलाउन सकिन्छ कि भन्ने मानसिकता बोकिरहेका छन् । त्यस्ता तत्वहरूले यतिबेला पार्टीलाई कमजोर बनाउन भूमिका खेलिरहेका छन् । कांग्रेसमा आवद्ध हुन चाहनेहरूलाई कांग्रेस राजनीतिको पुष्ठभूमि बुझाउन मात्र सके गुटको अन्त्य आफैं हुन्छ । 

तपाईंलाई पनि पार्टीपंक्तिभित्र एउटा गुटको मान्छे त भन्छन् नि ? 

म कुनै गुटको मान्छे होइन । हो, पार्टीमा म संस्थापनतिरै बसेर काम गरेको मान्छे हुँ । पार्टीको कार्यसम्पादनमा मैले कहिल्यै यो गुट र त्यो गुट भन्ने गरेको छैन । हाम्रा सबै नेता÷कार्यकर्ता कांग्रेसी नै हुन् । कस्ले के भन्छन्, म त्यस्ता विषयमा चासो राख्दिँन । चारतारे झण्डामा आबद्ध भएपछि सबै नेपाली कांग्रेस नै हुन्, कसैलाई भेद्भाव गर्ने मेरो नीति छैन । 

मोरङ ९ का कांग्रेस कार्यकर्ताहरू त तपाईं र सभासद् डिगबहादुर लिम्बूको पक्ष÷विपक्षमा विभक्त छन् रे, नि ? 

यो कुरा सभासद ज्यूलाई नै बढी थाहा होला वा प्रश्न सोध्ने तपाईंलाई नै । यसै हो भने मेरो पक्षमा पार्टीका लगनशील कार्यकर्ताहरू छन् । सभासद्को पक्षमा चाँही को–को छन्, मलाई थाहा छैन । कसैले कार्यकर्ताहरूलाई छुट्याएर मेरो÷तेरो मान्छे भन्दै हिड्छ भने यो उनीहरूको दिवास्वप्ना हो । जसले मोरङ ९ मा कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्छ, कुनै पनि गुटमा लाग्दैन, निश्चित रूपमा ती व्यक्ति खड्ग फागोकै मान्छे हुन् । कसैलाई बलेको आगो ताप्न मन लाग्छ भने ती मेरा मान्छे होइनन् । स्वार्थ पूरा गर्न चाहने ‘आसेपासे’हरू चाँही डिगबहादुरका मान्छे होलान् । 

सभासद डिगबहादुर लिम्बूसँग तपाईं रूष्ट हुनुको कारण चाँही के हो ?

९ नम्बर क्षेत्रका आम कांग्रेसीहरूलाई थाहा छ, खड्ग फागोबाट कुनै छलकपट हँुदैन भन्ने  मान्यता छ । कुनै व्यक्ति सभासद, मन्त्री वा अन्य लाभको पदमा जाने त पार्टीबाटै हो । विगतमा ९ नम्बर क्षेत्र कम्युनिष्टहरूको लालकिल्ला थियो । उनीहरू यस क्षेत्रबाट बढारिनु भनेको आमजनतालाई ढाँट गरेरै हो । हाम्रा सभासदले पनि जनताहरूलाई दिएको आश्वासन पूरा गर्न त परै जाओस् उनी पनि चुनाव जितेपछि जनताको घरदैलोसम्म पुगेका छैनन् । चुनावताका सुकुम्बासी समस्याको उठान, टाँडी गाविसमा लावा खोलाबाट पानी ल्याएर सिंगो टाँडीबासीलाई खानेपानी दिने, उर्लाबारीकै वानडाँडामा सभासदले चुनाव जितेको एक महिनाभित्रमा खानेपानी ल्याइदिने, मावा खोलाको तटबन्ध निर्माणलागयत विभिन्न आश्वासनहरू दिइएका थिए  । ती समस्या समाधानको त कुरै छाडौं, कुनै पहल समेत भएको छैन । यसरी सभासदले ढाँटछल गर्दै जाने हो भने कार्यकर्ता र जनतामाझ कसरी मुख देखाउनु ? मेरो भन्नु यतिमात्र हो की अब ढाँट र छलबाट राजनीति सम्भव छैन । ममा धुप बालेर मान्ने चलन छैन ।
सभासद्कै बारेमा भन्नुपर्दा उनले संगठनले निर्देशन गरे अनुसारको काम नगर्ने, दुई÷चार जना धुपौरे प्रवृत्तिका मानिसहरू अघिपछि लिएर हिड्ने गरेका छन् । जनप्रतिनिधि भएर आफ्नो क्षेत्रको अभावहरूलाई सम्बोधन गर्न छाडेर गुट उपगुट बनाउँदै हिडेको पाइएको छ । केही दिनअघि कै कुरा गरौँ न, मधुमल्ला र उर्लाबारीमा डिगबहादुरले कार्यक्रमको आयोजना गरेछन् । न मधुमल्ला र उर्लाबारीका पार्टी कार्यकर्ताहरूलाई थाहा दिइयो, न त भातृसंगठनका संयोजकलाई नै कार्यक्रमका बारेमा थाहा भयो । कतिसम्म भने क्षेत्रीय समितिलाई समेत जानकारी दिइएन । के सभासदले पार्टी चलाउने हो ? हामीले भन्दा पनि तपाईं पत्रकारहरूले डिगबहादुरलाई भेटेको बेला यसबारेमा सोधिदिनु होला । विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा आउनुभएका साथीहरूको बारेमा सभासद्लाई के कति थाहा छ र, वाहियात !
चुनावमा ‘सुकुम्बासीको नेता हुँ’ भन्दै सुकुम्बासीको घरघरमा भोट माग्न गएका उनी अहिले ‘सुकुम्बासीको घर जाऊँ न ?’ भन्दा मुन्टो फर्काउँछन् । उनले महलका कार्यकर्तामात्र रुचाउन थालेका छन् । उनी मीठा–मीठा परिकारमा रमाउन थालेका छन् रे । कति दिनसम्म उनले धुपौरेको आश गर्दै जान्छन्, हेर्दै जाउँ ।

तपार्इंले अख्तियारी लिएको रकम दुरूपयोग भएको भन्दै सभासद्ले नै आरोप लगाएका छन् नि ? 

सभासद कोषको रकम डिगबहादुर स्वयम्ले सभासद स्वयंमले मलाई मेरो घरमै आएर अख्तियारी दिएको अवस्था हो । सभासद कोषमा आएको त्यो १० लाख रकमे सभासदले जनता  र कार्यकर्तामाझ गरेको वाचा अनुरूपको कुनै पनि कार्य सम्पन्न हुन कठिनाई थियो । सभासदले मलाई त्यही भएर रकम अख्तयारी दिनुभएको थियो । मैले त्यो रकम लेटाङ, मधुमल्ला, उर्लाबारी लगायतका गाविसहरूमा खर्च भएका छन् । सबै रकमको हिसाब किताब सहितको बिल भौचर अहिले पनि मसँग सुरक्षित छन् । १० लाखबाट खर्च गर्न बाँकी  ५ रूपैयाँ म पार्टीको क्षेत्रीय कोषमा बुझाउँदै छु । अन्य क्षेत्रको तुलनामा यस क्षेत्रको रकम सदुपयोग भएको कोष रकमको निरीक्षण गर्न आउने टोलीले पनि बताएका छन् । निरीक्षण गर्न आउने टोली सन्तुष्ट हुँदैँ यस क्षेत्रको प्रशंसा गरेर गएका छन् । कोषमा आएको रकम खेलकुद, पत्रकारिता तालिम, अपाङ, खानेपानी, मन्दिरलाई सामग्रीका साथै शैक्षिक संस्थालाई दुई लाख सहयोग भएको अवस्था छ । 

तपाईंले चुनावमा टिकट नपाएर असन्तुष्ट व्यक्त गर्नुभएको त होइन ?

टिकट नपाएर असन्तुष्टि मैले कहाँ गरेको छु र ? असन्तुष्ट भएका कार्यकर्ताहरूलाई चुनावी माहोलमा अगाडि बढाएर लैजाने म खड्ग फोगो नै हुँ । चुनावी सभामा सभासदले ‘घाँटी दुख्यो’ भन्दा घाँटी फुक्ने गरी मैले बोलेको छु । १२औँ महाधिवेशनभन्दा अगाडि नेपाली कांग्रेसको अवस्था कस्तो थियो र अहिले कस्तो छ ? मलाई विभिन्न व्यक्तिहरुले अहिले धन्यवाद दिन्छन् । आज हामी सफल भएका छौं कांग्रेसको चारतारे झण्डा फहराउन, यो क्षेत्रमा । टिकट ठूलो की संगठन ठूूलो हो भन्ने कुरा अबुझहरूले भनेका कुराहरु मात्र हुन् । यस्तो कुरामा मलाई मतलब छैन । 

र, अन्त्यमा..............?

महान् पर्व दशैँ भर्खरै सकिएको छ । शुभ दिपावली, छठको शुभकामना म सम्पूर्ण नेपालीहरूलाई दिन चाहन्छु । म नेपाली कांग्रेसका बफादार सिपाहीहरूलाई लभी÷गुट नबनाइ र कसैसँग शंका नगरिकन आ–आफ्नो जिम्मेवारी बहन गर्दै  अगाडि बढ्न आग्रह गर्दछु । 

                                                                                                                        प्रस्तुतिःगोविन्द पोख्रेल

Friday, October 10, 2014

‘जुवाडे’को गाडीमा इन्सपेक्टर सरर...

उर्लाबारी÷प्रहरी नै कर्तव्यबाट च्युत भएपछि नागरिकले के अपेक्षा गर्ने ? उर्लाबारीमा यस्तै सङ्गति नमिलेको घटना सार्वजनिक भएको छ । सामान्य कुराकानीमा समेत आफूलाई ‘इमान्दार राष्ट्रसेवक’का रूपमा प्रस्तुत गर्न पछि नपर्ने उर्लाबारीका प्रहरी प्रमुखले संदिग्ध व्यक्तिहरूबाट प्राप्त ‘सुविधा’को उपभोग गर्दै आएको खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज कार्कीले ‘बाह्रमासे जुवाडे’ का रूपमा बद्नामी कमाएका व्यक्तिको गाडीमा हुँइकिएर ‘जग हँसाएका’ हुन् । उनले ‘जुवाडे’का गाडी व्यक्तिगत काममा प्रयोग गर्ने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इन्सपेक्टर कार्की उर्लाबारी–६ का अर्जुन तुम्रोकको राईनो जीप लिएर गत दशैंमा सपरिवार आफन्तको घर–घर पुगेका थिए । तुम्रोक तिनै व्यक्ति हुन्, जो पेशेवर जुवाडेका रूपमा कुख्यात छन् । पछिल्लो पटक गत भदौं १४ गते पथरीमा जुवा अखडाबाटै तुम्रोकसहित दर्जन बढी जुवाडे पक्राउ परेका थिए ।

तुम्रोक यसअघि पटक–पटक जुवा खेल्ने÷खेलाउने गरेको आरोपमा प्रहरी कारवाहीमा पर्दै आएका व्यक्ति हुन् । उनको को १ च ४२५८ नम्बरको कालो रंगको राइनो जीप इन्सपेक्टर कार्कीले दशैं अवधिभर निजी काममा प्र्रयोग गरेको प्रहरी स्रोतले नै बताएको छ । आसन्न तिहारको जुवामा आफू लक्षित हुने हस्तक्षेपलाई रोक्ने उद्देश्यले तुम्रोकले इन्सपेक्टर कार्कीलाई गाडी दिएर प्रभावमा पार्न खोजेको स्रोतले बतायो ।

यस विषयमा जिज्ञासा राख्दा इन्सपेक्टर कार्कीले गाडी प्रयोग गरेको स्वीकारेपनि उक्त गाडी तुम्रोकबाट आफूले नलिएको दाबी गरे । कार्कीले झाँेकिदै भने, ‘तुम्रोकलाई व्यक्तिगत रूपमा म चिन्दिन, जोसुकैको गाडी चढेपनि पत्रकारलाई के चासो ?’ सो राइनो जीप उर्लाबारीका एक मेनपावर सञ्चालकबाट आफूलाई उपलब्ध भएको उनको भनाइ थियो । सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि चासो व्यक्त हुने प्रश्नमा भने इन्सपेक्टर कार्कीले कुनै प्रतिक्रिया दिएनन् ।

‘आफ्नो गाडी दिदाँ प्रहरीलाई अप्ठ्यारो हुन्छ भन्दै तुम्रोकले मसँग गाडी मागेको थियो’ तुम्रोकसँगै भदौं १४ गते पक्राउ परेका एक व्यक्तिले नाम नबताउने सर्तमा भने, ‘मैले गाडी नदिएपछि उसले (तुम्रोक) आफ्नै गाडी दिएछ ।’

गाडी उपलब्ध गराएको बारे सोध्दा तुम्रोकले पनि इन्सपेक्टर कार्कीकै भाषामा प्रतिक्रिया दिँदै भने, ‘म मेरो गाडी जोसुकैलाई दिऊ, किन सोधीखोजी ?’ इन्सपेक्टरले दसैंभरि गाडी प्रयोग गरेपनि तुम्रोकले भने दसैंमा एक दिनका लागि मात्र गाडी दिएको बताए ।          

दशैंको पूर्वसन्ध्यामा मोरङका एसपी ठूले राईले दशैंतिहारलाई लक्षित गरी १८ वटा सुरक्षा योजना सार्वजनिक गरेका थिए । जसमा चाडपर्वको समयमा जुवा, तास, डाईसजस्ता गैरकानुनी खेलहरू खेल्नेलाई मात्र नभएर त्यस्ता व्यक्तिहरूको मतियार बन्नेलाई पनि कारबाही गर्ने  उनले बताएका थिए । उर्लाबारी प्रहरीले पनि जुवाजन्य खेलविरूद्ध जनचेतनामूलक  माईकिङ समेत गरेको थियो । यद्यपि आफ्नै संगठनको प्रतिबद्धतालाई ‘धोती लगाउँदै’ जुवाडेसँगै साँठगाँठ गर्ने कार्कीजस्ता प्रहरी अधिकृतलाई कस्तो कारवाही होला ? प्रतीक्षाकै विषय बनेको छ । 

उर्लाबारी नगर विकास समिति

छैन नाम अनुसारको काम

उर्लाबारी÷शहरी विकासका नयाँ योजनामा दिगो, स्वावलम्बी र स्वस्थ शहरको अवधारणालाई समेट्नु अहिलेको प्रमुख आवश्यकता हो । जुन हरेक शहरमा नयाँ योजनाको टड्कारो खाँचो रहन्छ । यसरी योजना निर्माण गर्न तथा नगरमा विकासको मुहान फुटाउन नगर विकास समिति पनि गठन भएका छन् । तर, गठन भएको लामो समयसम्म पनि विकासका लागि स्पष्ट खाका नआउनु भने विडम्बना नै हो । जुन, उर्लाबारी नगरपालिकाले झेल्दै आउनुपरेको छ ।
उर्लाबारी नगरपालिका, विगत दुई दशकदेखि नगरपालिकाको पर्खाइमा थियो । २०६८ सालमा सरकारले नगरपालिका घोषणा गर्दा पनि कार्यान्वयनमा भने आउन सकेको थिएन । जसले गर्दा नगरपालिका कार्यान्वयनका लागि थप दुई वर्ष पर्खनुपर्यो । नगरपालिका घोषणा भएपछि पनि यहाँ स्थानीय विकास निर्माणका काम भने उही कछुवाकै गतिमा छ । विगतमा पनि दलीय भागवण्डाका कारण विकास निर्माणका कार्यहरू ठप्प नै थिए । हाल नगर विकास समिति गठन भएर यतिका समय बितिसक्दा पनि समितिले विकासका लागि तथा नगरको मुहार फेर्नका लागि स्पष्ट खाका ल्याउन सकेको छैन ।
तीब्र शहरीकरणतर्फ लम्केको उर्लाबारी नगरपालिकाभित्र अनियन्त्रित र अव्यवस्थित बस्ती विकास बढ्दो छ । अव्यवस्थित बस्ती विकाससँगै फोहोर मैला व्यवस्थापन, ढल निकासी, खानेपानीलगायतका समस्या विकराल बन्दै गएका छन् । यी समस्याको समाधान बेलैमा गर्न नसके भयावह हुने देखिन्छ । यसर्थ समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनुपर्ने टड्कारो खाँचो छ । 

करिब ३ हजार ५ सय बिघा क्षेत्रफलमा फैलिएको र १ लाखको हाराहारीमा जनसंख्या पुगिसकेको उर्लाबारीका हरेक वडाहरू शहरको रूपमा परिणत भैइसकेका छन् । तर, ढल निकासी, फोहोरमैला व्यवस्थापनको समस्या चुलिँदो छ । अघिल्ला वर्षहरूमा तथा यस वर्ष पनि बर्खायाम लागेपछि पानीको निकास व्यवस्थित नभएका कारण नगरका अधिकांश स्थान जलमग्न बने । यद्यपि समस्या समाधानका लागि सम्बन्धित निकायको चासो देखाएको छैन । जसले गर्दा अबका केही वर्षमा पनि समस्या यथावत रहने प्रष्टै छ । उता, फोहोरमैला व्यवस्थापनमा ध्यान नदिदा नदी किनार तथा सार्वजनिक स्थानहरू दुर्गन्धित छन् । उर्लाबारी क्षेत्रमा रहेका होटल, अस्पताल तथा हाटबजारबाट निस्किने फोहोरमैला व्यवस्थापन विकराल बन्दै गइरहेको छ । अर्काेतर्फ नदी नियन्त्रणमा ध्यान नदिदा वर्षेनी नदी कटानको समस्या झेल्दै आउनुपरेको छ । यस्तै सार्वजनिक जग्गाको अभावमा बस, रिक्सा, ट्याक्सी, बजारलगायतलाई ब्यवस्थापन गर्न नसक्दा समस्या बढ्दो छ । अर्काेतर्फ उर्लाबारी भूकम्पीय दृष्टिकोणले समेत असुरक्षित छ । सरकारले भवन निर्माण सम्बन्धि संहिता लागू गरेता पनि यहाँ भने संहिता विपरित धमाधम भवनहरू निर्माण भइरहेका छन् । सरकारले नेपालमा भूकम्पीय क्षतिको जोखिम उच्च रहेको ठहर गर्दै २०६४ सालमा भवन निर्माण संहिता जारी गरेको थियो ।
सहरी विकासमा उचित भू–योजना तयार नहुनु, नीति–नियमहरूले व्यावहारिकता नपाउनु र जनसंख्याको चापले विष्फोटलाई निम्त्याउनु अत्यन्तै डरलाग्दा लक्षणहरू देखिन थालेका छन् । साना साना प्राकृतिक विपत्तिको अवस्थामा पनि सहरमा जटिलता बढेको छ । शहरी विकासका नयाँ योजनाको टड्कारो खाँचो छ, जुन योजना दिगो, स्वावलम्बी र स्वस्थ सहरको खाकालाई व्यावहारिक रूपमा समेट्न सकोस् । तर, सम्बन्धित निकायको बेवास्ताका तथा दीर्घकालीन योजना नबन्दा शहरी क्षेत्रहरूमा समस्या विकराल बन्दै गएको हो । विराटनगरमा जण्डिस तथा हेपाटाइटिसको महामारीलाई उदाहरण मान्न सकिन्छ । जहाँ हजारौ मानिस थलिए भने दर्जनले ज्यान गुमाए । अव्यवस्थित ढल निकासी, ६ दशकदेखि खानेपानी पाइप मर्मत नहुँदा विराटनगर उक्त महामारी निम्तिएको थियो । यो महामारी उर्लाबारीमा पनि नफैलिएला भन्न गाह्रो छ । हाम्रा शहरहरू यस्ता छन् कि जहाँ जतिबेला संकट निम्तिन सक्छ । त्यसैले यसका लागि बेलैमा सचेत र सजक हुन जरूरी छ ।

Sunday, September 28, 2014

समृद्ध नेपाल पर्यटन विकासको आधार

Ishor Bhattarai




यूएनडब्लुटीओ को तथ्यांकअनुसार नेपालमा पर्यटनको माध्यमबाट एक लाख २० हजारले मात्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । अर्काेतर्फ १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०११ मा राजनीतिक अस्थिरताका कारण ७ लाख पर्यटक मात्र नेपाल आएका थिए । यसरी पर्यटन क्षेत्रको प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकमा सोचेअनुरूपको पर्यटक भित्र्याउन नसक्नु र रोजगारीको अवसर सृजना गर्न नसक्नु विडम्बना नै बनेको छ ।




सेक्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हरेक वर्ष पर्यटनसम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिन्छ । 
पाँच दशकअघिदेखि नेपालमा पर्यटनको विकास शुरू भएको मानिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाल पर्यटनका लागि आशलाग्दो गन्तव्यका रूपमा चिनिन्छ । यहाँ रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले पर्यटन विकासका लागि प्रचुर सम्भावना बोकेको छ । यही विविध सम्पदाले धनी रहेको हाम्रो मुलुकमा पर्यटनको विकास गर्न सके मुलुक आर्थिक समृद्धितर्फ जाने निश्चित छ । तर, हामीसँग भएको यो अथाह सम्पदाको उचित सदुपयोग गर्न नसक्दा हामीले पर्यटन क्षेत्रबाट निश्चित लाभ लिन भने सकिरहेका
छैनौं ।
संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन(यूएनडब्लुटीओ)ले सहस्राब्दी विकासको प्रमुख लक्ष्य हासिल गर्न ‘एक अर्ब पर्यटक भित्र्याउदा एक अर्ब अवसर’ भन्ने नारालाई अघि सारेको थियो । पर्यटन विकासलाई सशक्त माध्यम बनाएर सन् २०१५ सम्म नेपाललगायत विश्वव्यापी रूपमा पर्यटकको संख्या एक अर्ब पु¥याउने र एक अर्ब अवसर सृजना गर्ने लक्ष्य लिएको थियो । यसको मुख्य उद्देश्य पर्यटन विकास माध्यमबाट गरिबी न्यूनिकरण गर्नु नै हो । तर, हाम्रो मुलुकमा यो कदमप्रति खासै चासो दिइएको देखिदैन । जसका कारण युवाहरू रोजगारीका लागि विदेशी भूमिमा श्रम तथा पसिना बगाउन बाध्य छन् । यहाँ रोजगारीकै लागि युवाहरू दैनिक भौतारिनु परेको तितो यथार्थ छदैछ । यूएनडब्लुटीओ को तथ्यांकअनुसार नेपालमा पर्यटनको माध्यमबाट एक लाख २० हजारले मात्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । अर्काेतर्फ १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०११ मा राजनीतिक अस्थिरताका कारण ७ लाख पर्यटक मात्र नेपाल आएका थिए । यसरी पर्यटन क्षेत्रको प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकमा सोचेअनुरूपको पर्यटक भित्र्याउन नसक्नु र रोजगारीको अवसर सृजना गर्न नसक्नु विडम्बना नै बनेको छ ।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले धनी मानिएको हाम्रो मुलुकमा विश्वमा नै दुर्लभ मानिएको हिमाल, पहाड तथा तराईमा भिन्नाभिनै हावापानीयुक्त भूमि रहेका छ । जसले गर्दा तराई, पहाड र हिमालमा मौसम अनुरूपमा वनस्पति, जीवजन्तु रहेका छन् । यस्तै विश्वको सर्वाेच्च शिखर सगरमाथालगायत अन्य अनगिन्ति हिमशृंखला, सूर्याेदय तथा सूर्यास्त देखिने अन्तु डाँडा, विश्वमा नै अग्लो स्थानमा रहेको तिलिचोलगायत अन्य असंख्य तालहरू, होचो स्थानमा रहेको अरूण उपत्यकालगायत प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यस्तै विभिन्न प्रजातिका चराहरू, जनावर तथा वनस्पतिले जीव, जनावर तथा वनस्पति विज्ञानका लागि पनि प्रयोगशालाका रूपमा मान्न सकिन्छ । यहाँ विभिन्न देशबाट विद्यार्थी, वैज्ञानिक तथा विशेषज्ञहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । यस्तै, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दू धर्माबलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, हिन्दू र बौद्ध धर्माबलम्बीको पवित्र स्थल हलेसी महादेव (खोटाङ), जनकपुरस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारीलगायतले धार्मिक पर्यटनका लागि परिचित छ । यसैगरी विश्वमा नै साहसिक खेलका रूपमा भोटेकोशीको बन्जी जम्प, चितवनमा हुने हात्तीपोलो, एभरेष्ट म्याराथन, रक क्लाइभिङ, ट्रेकिङ, राफ्टिङलगायतका खेलबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सकिने प्रचुर सम्भावना रहेको छ । यति हुँदा हुँदै पनि पर्यटनको विकासले ठोस गति लिन सकिरहेको छैन । एकातर्फ पर्यटन व्यवसाय सीमित शहरमा मात्र केन्द्रित छ । जसले गर्दा केही प्रचुर पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू अझैं पनि ओझेलमा नै पर्दै आएका छन् । ७५ ओटै जिल्ला प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाले अटल मानिन्छन् । अर्काेतर्फ पूर्वाधार निर्माण तथा जनसहभागिता पनि न्यून नै छ । तर, पर्यटन विकासका लागि प्रयासहरू नभएका पनि होइनन् । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कै लागि पूर्व मेचीदेखि महाकालीसम्म महोत्वको लहर नै चल्ने गरेको छ । जसमा निश्चित व्यक्तिभन्दा अन्यले उल्लेख्य लाभ बटुल्न सकेको पाइदैन । यसले गर्दा पर्यटन क्षेत्रको विकासका लागि उपयुक्त ढंगले प्रबद्र्धन गरी प्रचारप्रसार गरे मुलुकको पर्यटन विकासले तीब्र फड्को मार्ने निश्चित देखिन्छ । पर्यटकीय सम्पदालाई उचित रूपले सदुपयोग गर्न सके प्रचुर सम्भावना बोकेका क्षेत्रबाट निश्चय नै लाभ लिन सकिने देखिन्छ । यसका लागि प्रचारप्रसार, पूर्वाधार विकास तथा जनसहभागितामा जोड दिनु आवश्यक छ । तबमात्र पर्यटनबाट नै मुलुक समृद्ध बन्ने देखिन्छ । 

दुर्घटनाका घाइतेलाई उपचार नै नगरी डिष्चार्ज

उर्लाबारी ÷प्रशासन र प्रहरीको आडमा दुर्घटनामा गम्भीर घाइतेका आफ्ना बुवाको उपचार नै नगरी अस्पतालले डिष्चार्ज दिएको भन्दै मोरङ बयरवन –७ का छवि धिमालले सहयोगको लागि मिडिया र अधिकारकर्मीहरू गुहार्नु भएको छ । आज विज्ञप्ति सार्वजनिक गर्दै उहाँले सहयोगको याचना गर्नु भएको हो ।

मोरङको कानेपोखरी रंगेली सडकको वरगाछी–रमाइलो खण्डमा सवारी चालक अनुमति पत्र समेत नभएका बयरवन ८ का हरि अधिकारीले गाडी सिक्ने क्रममा गत बुधवार वयरवन–७का जगदिश धिमाल गाडीले घिसारेर गम्भीर घाइते बनाएको थियो । को १ च ५८७३ नं.को नानोे कारले सडक किनारमा हिडिरहेका धिमाललाई ५०मिटर घिसारेर गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् ।तर अधिकारीका आफन्तले तत्काल प्रहरीमा शान्तिराम अधिकारीले सवारी साधन चलाउँदा असावधानी बस दुर्घटना भएको गलत सूचना दिई अधिकारीलाई भगाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–अस्पताल भर्ना भएको दिन न्यूरो डाक्टरहरूले ३० दिन अस्पतालमा उपचार गर्नु पर्ने सुझाएका थिए । हाल आएर डिष्चार्जको तयारी भइरहेको
छ ।

दुर्घटना भए लगत्तै आफूहरू बाबूलाई बचाउन अस्पताल लागेकोले कसले दुर्घटना गराएको भन्ने तिर आफूहरू नलागेको छवि धिमाल बताउँनु हुन्छ । सुरुमा पीडक पक्षले प्रहरी समक्ष उपचार गरिदिने भने पछि कानूनी उपचारका लागि कुनै उजुरी नगरेको छविले बताउनु भयो । तर,एकाएक डिष्चार्जको कुरा आएपछि शुक्रबार नै इलाका प्रहरी कार्यलय पथरीमा किटानी जाहेरी गरेको पििडतकी बुहारी विमला धिमालले बताउनु भयो । आट्र्स ब्यवसायी  धिमालले कमजोर आर्थिक अवस्थाका कारण आफ्नो परिवारलाई प्रहरी र अस्पतालले असहयोग गरेको गुनासो गर्नुभयो । 

Thursday, September 25, 2014

छात्रा पदकबाट विभुषित रेनुका कार्की

गोविन्द पोखरेल
                                          सफलताको पाइला    


‘मैले धान फलाउनका लागि पढेको होइन, कसरी धान फलाइन्छ भन्ने कुरा अरूलाई सिकाउनका लागि पढेकी हुँ । अबका दिनहरूमा धान फलाउनका लागि खेतमा मात्र नभएर घरको छानामा पनि फलाउन सकिन्छ ।’



समाजमा आफूलाई स्थापित गराउने काम गाहै्र छ । महिलाको कुरा गर्ने हो भने, त झनै कठिन हुन्छ । समाजमा लैगिंक, जातीय तथा शारीरिक रूपमा उत्पीडनका घटना विद्यमान छन् । यी यावत कुरालाई पन्छाउँदै सफलता चुम्नु आफैंमा गर्वको कुरा हो । यस्तै, गर्विलो बनेकी छन्, उदयपुर गाईघाटकी रेनुका कार्की ।
हाम्रो समाजमा नारीले पढेर के नै गर्छे र ? भन्ने प्रश्न तेर्साउने मानिसहरू  प्रशस्तै भेटिन्छन् । अझ झन्, नारीको कृषि क्षेत्रमा के काम भन्नेहरू पनि छदैछन् । तर, यी प्रश्न तेर्साउनेलाई एकपटक सोच्न बाध्य बनाएकी छन्, रेनुकाले । २० वर्षीया रेनुकाले उर्लाबारी–६ मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानबाट ३ वर्षे कृषि विज्ञान (आइएसस्सी)मा उत्कृष्ठ अंक ल्याएर विभुषित भइन् । आमा मधु र बुबा सिताराम कार्कीकी कान्छी छोरी रेनुका मेधावी छात्राका रूपमा चिनिन्छिन् । पढाइको उनको लगावले गर्दा गत भाद्र १२ गते शिक्षा दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिबाट नेपाल छात्रा विद्या पदकबाट विभुषित भएकी हुन् ।
विगतमा प्राविधिक विषय अन्तरगतको कृषि विज्ञान पढ्छु भन्दा गाउँलेहरूले आपूmलाई हाँसोको पात्रो बनाएका उनी स्मरण गर्छिन् । तर, हाल पदक प्राप्त गरेपछि गाउँमा रेनुकालाई हेर्ने दृष्टिकोण फेरिएको छ । रेनुका भन्छिन्, ‘मलाई मानिसहरू पढेर केही काम छैन भन्थे । तर, आज समयले कोल्टे फेरेको छ । हिजो नपढ् भन्नेहरू मलाई पढ्न प्रेरित गरिरहेका छन्  । यसले मलाई पढेर केही गर्छु भन्ने उर्जा मिलेको छ ।’
प्राविधिक शिक्षा पढ्दा अरूको भरमा पर्नु नपर्ने उदाहरण पेश गर्ने रेनुका प्राविधिक शिक्षा जिविकोपार्जन तथा स्वरोजगार बन्नका लागि उपयुक्त विषय रहेको बताउँछिन् । उनी भन्छिन्,  ‘प्राविधिक विषयबाट केही गर्न सक्ने आत्मविश्वास बढाउन सकिन्छ ।’ कृषि क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो उद्देश्य रहेको बताउने रेनुका क्षेत्रफलले सानो रहेको नेपालमा दुई करोड ६० लाख मानिसलाई पुग्ने गरी खाद्यान्न उत्पादनका निम्ति कृषि क्रान्ति नै प्रमुख आवश्यकता रहेको बताउँछिन् । उनी भन्छिन्, ‘८० प्रतिशत जनता कृषि क्षेत्रमा निर्भर रहेको हाम्रो देशमा खाद्यान्नकै लागि परनिर्भर हुनुपर्छ । त्यसैले कृषि क्रान्ति नेपालका लागि अपरिहार्य छ ।’ कृषि विज्ञान पढ्दा गर्व गर्ने रेनुका आफू धान फलाउनका लागि पढेको नभइ, कसरी धान फलाइन्छ भन्ने कुरा अरूलाई सिकाउनका लागि पढेको बताउँछन् । उनी भन्छिन्, ‘अबका दिनहरूमा धान फलाउनका लागि खेतमा मात्र नभएर घरको छानामा पनि फलाउन
सकिन्छ ।’ आउँदा दिनमा कृषि क्षेत्रमा नवीन सोचका साथ नयाँ आयाम र उचाइँ पुर्याउने लक्ष्य रहेको उनले बताइन् ।
नेपाल छात्रा विद्या पदकबाट विभुषित हुनुअघि उनले यो अवस्थासम्म पुग्छु भन्ने सोच समेत बनाएकी थिइनन् । दिनरात मिहेनत गर्दा यति ठूलो सफलताभन्दा पनि उत्कृष्ट पक्कै हुन्छु भन्ने विश्वास उनमा रहेको थियो । यसबाट आपूmले धेरै सिक्ने मौका मिलेको उनले बताइन् । यो अवस्थामा ल्याउनका लागि आमाबुवा, शिक्षकशिक्षिका, साथीसंगी र परिवारका अन्य सदस्यहरूलाई प्रेरणाको स्रोत मान्ने रेनुकाले मिहेनत र संघर्ष गर्न सके अवश्य पनि सफलता चुम्न सकिने उनी बताउँछिन् । विगतलाई स्मरण गर्दै उनी भन्छिन्, ‘कक्षामा पढाइएको कुराहरू घरमा अध्ययन गर्ने मेरो बानी थियो । नजानेको कुरा आपूmभन्दा सिनियरहरूसँग सल्लाह–सुझाव लिन्थे र पुस्तकालयमा गएर विस्तृत रूपमा पाठ पढ्ने गर्थे ।’ विद्यार्थीका लागि सबै दिन परीक्षा रहेको बताउने रेनुका भन्छिन्, ‘परीक्षामा हामी विद्यार्थीहरूले पढेको कुराहरू एकपल्ट हेर्ने हो, परीक्षाको तयारी त पाठ पढेकै दिन गरिनुपर्छ ।’

Wednesday, September 24, 2014

साक्षरता अभियान र प्रभावकारिता

ईश्वर भट्टराई

सरकारले आर्थिक वर्ष २०६५÷०६६ बाट साक्षता अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म सरकारले अभियानका लागि ६ अर्ब १४ करोड ८९ लाख २५ हजार रूपैयाँ खर्च गरिसकेको छ । साक्षरता अभियानलाई पूरा गर्न सरकारले करोडौ रूपैयाँ लगानी गरेपनि त्यो ‘बालुवामा पानी हालेसरह’ भएको विज्ञहरूको ठहर छ । तर, सरकार भने विगतको तथ्यांकलाई गौरव गर्दै हाल दु्रत गतिमा अभियान सञ्चालनमा छ । जसले गर्दा कतै कागजीरूपमा पूर्ण साक्षर देश घोषणा हुने त होइन भन्ने आशंका पैदा गराएको छ ।







‘शिक्षा एउटा यस्तो चाबी हो जसले स्वतन्त्रतताको सुनौलो ढोका खोल्न सक्छ ।’
                                                                                                         –जर्ज वासिङटन कारभेर

‘यदी कोही नराम्रो बाटोमा हिड्दैछ भने उसलाई सुमार्गमा ल्याउन उत्प्रेरणा होइन, शिक्षा दिनुपर्दछ । शिक्षाबाट नै उसले राय फेर्न सक्छ ।’ 
                                                                                                                        –जीम रोहन

कारभेर र रोहनले भनेझैं परिवर्तनको ढोका खोल्नका लागि शिक्षा नै प्रमुख आधार हो । बाल्मिकी ऋषिले पनि भनेका थिए ‘शिक्षा विनाको मानिस बाँदर जस्तै हुन्छ ।’ हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायतका पक्षको पहिलो र महत्वपूर्ण आधारशिला शिक्षा नै हो । समुन्नत समाज एवम् स्वाबलम्बी र आत्मनिर्भर बन्न शिक्षा नै अपरिहार्य हुन्छ ।

सेप्टेम्बर आठ अर्थात राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस यस वर्षपनि विभिन्न नारा घन्काएर मनाइएको छ । २१ औं शताब्दीको यो पछिल्लो युगमा यो दिवस मनाइराख्दा हामी भने निरक्षरता उन्मूलनका लागि प्रयासरत्त छौं । यो युगमा आएर अक्षर चिन्न र छिचोल्न सिकाउने अभियान आफैंमा विडम्बना र लाजमर्दाे विषय हो । हामीकहाँ शिक्षा दिवस वि.सं. २०३१ सालबाट मनाउन शुरू गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहुन्’ भन्ने उद्घोषका साथ दिवसको थालनी गरेका थिए । तर, चार दशक बित्दापनि हामी अझैं पनि निरक्षरता उन्मूलन अभियानमा नै छौं । शिक्षाको कुरा गर्दा विश्वले व्यवहारिक तथा प्रविधियुक्त शिक्षामा फड्को मारिसक्दा हामी भने उही परम्परगत शिक्षण प्रणालीमा रूमलिइहेका छौं ।

विडम्बना नै मान्नुपर्छ, हामीमा समुन्नत र व्यवहारिक शिक्षाको नारा दशकैंदेखि घन्किएपनि व्यवहारमा आउन सकेको छैन । यहाँ केबल शिक्षामा व्यापारिक प्रतिस्पर्धा मात्र फष्टाएको छ । व्यापारिक हिसाबले शिक्षाको जालो फैलिएपनि त्यो केही सीमित वर्ग, क्षेत्रमा मात्र सीमित छ । ग्रामीण बस्ती तथा गरीबका झुपडीसम्म शिक्षा पुग्न सकेको छैन । २१ औं शताब्दीमा पनि यस्तो अवस्थामा गुज्रनु भनेको नेपाल र नेपालीका लागि हदैसम्मको दुर्भाग्य हो ।
सरकारी तथ्याङ्कअनुसार हाल ३४ प्रतिशत नेपाली निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समूहका साढे ३१ लाख जनसंख्या निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रको तथ्याङ्क छ । उता, नेपालमा हाल १५ वर्षमाथिका करीब ४० लाख नागरिक निरक्षर रहेको जनगणना २०६८ तथा विभिन्न सर्वेक्षणले देखाएको छ । यी तथ्यांकलाई केलाउँदा हामीकहाँ कस्लाई निरक्षर मान्ने र कस्ता किसिमका निरक्षर छन् भन्ने स्पष्ट आधार पनि छैन । सर्वप्रथम निरक्षरको अवस्थालाई वर्गीकरण गरी तल्लो वर्गमा रहेकालाई आधार मानेर अभियान सञ्चालन गर्न सके अपेक्षित लक्ष्यमा पुग्न सकिने थियो कि ? यद्यपि सरकार भने अन्तराष्ट्रिय स्तरमा आफूले गरेको प्रतिबद्धता पूरा गराउन दु्रत गतिमा अभियान सञ्चालनमा छ । सरकारले सन् २०१५ सम्ममा सबैलाई शिक्षा पु¥याउने प्रतिबद्धता गरेको हो । यसैअनुरूप चालू आर्थिक वर्षभित्र देशका १५ देखि ६० वर्ष उमेर समूहका सम्पूर्ण नागरिकलाई साक्षर बनाउने गरी निरक्षरता उन्मूलन वर्षका रूपमा घोषणा गरिसकेको छ ।
सरकारले आर्थिक वर्ष २०६५÷०६६ बाट साक्षता अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म सरकारले अभियानका लागि ६ अर्ब १४ करोड ८९ लाख २५ हजार रूपैयाँ खर्च गरिसकेको छ । साक्षरता अभियानलाई पूरा गर्न सरकारले करोडौ रूपैयाँ लगानी गरेपनि त्यो ‘बालुवामा पानी हालेसरह’ भएको विज्ञहरूको ठहर छ । तर, सरकार भने विगतको तथ्यांकलाई गौरव गर्दै हाल दु्रत गतिमा अभियान सञ्चालनमा छ । जसले गर्दा कतै कागजीरूपमा पूर्ण साक्षर देश घोषणा हुने त होइन भन्ने आशंका पैदा गराएको छ । साक्षर अभियान सकारात्मक भएपनि यति छोटो समयमा यसरी महत्वकांक्षी अपेक्षा राख्नु भने ठीक होइन । यति छोटो समयमा महत्वकांक्षी अपेक्षा राखेर यतिका बजेट खन्याउनुपर्ने औचित्य नै थिएन ।
गत संविधासभाको निर्वाचनमा भएको मतदाता शिक्षालाई नै आधार मान्दा यो सरकारी अभियान पनि कागजी हुने देखिन्छ । सामान्य रहेको मतदाता शिक्षामा दुई छुट्टाछुट्टै मतपत्रमा १÷१ पटक कोठाभित्र स्वस्तिक चिन्ह लगाएर स्वस्तिक छाँप नपोतिने तरिकाले पट्याएर मतपेटिकामा खसाल्न सिकाइएको थियो । यद्यपि मत बदर भने अत्याधिक रह्यो ।

मतदाता शिक्षाका लागि सरकारले करोडौं रूपैयाँ खन्याएपनि त्यो ‘बालुवामा पानी हाले सरह’ बन्यो । सामान्य रहेको मतदाता शिक्षालाई पनि नजरअन्दाज गर्दा हामीकहाँ कस्ता कस्ता निरक्षरता नागरिक छन् भन्ने निक्र्यौल गर्न सकिन्छ । त्यसैले यी नागरिकसमक्ष प्रभावकारी रूपमा साक्षर अभियान पु¥याउन नसके कतै साक्षर अभियान पनि मतदाता शिक्षा जस्तै होला भन्ने नकार्न सकिन्न ।
सर्वप्रथम साक्षरता बन्नकालागि आफैैबाट पनि साक्षर बन्ने जनइच्छा जाहेर हुनुपर्ने हुन्छ । आफूभित्र साक्षर बन्ने इच्छा नै छैन भने अभियान सञ्चालनको कुनै औचित्य नै छैन ।

जनइच्छाको कुरा गर्दा हामीकहाँ २५.२ जनता अझैं गरीबीको रेखामुनी छन् । उनीहरूलाई साँझ बिहान हातमुख जोर्नसमेत धौधौ पर्ने गर्दछ । यस्तो अवस्थामा सरकारले साक्षरता अभियानअन्र्तगत साक्षरता कक्षामा कसरी सहभागी हुन्छन् ? सरकारले साक्षरता कक्षामा सहभागी रहेकामध्येबाट छनोटमा परेको गरीब, दलित, जनजाति, अल्पसंख्यक, द्वन्द्वपीडित महिलाका लागि आयआर्जनका लागि विभिन्न सीपमूलक तालिम दिने पनि भनेको छ । यद्यपि, ग्रामीण तथा दुर्गम भेगका बस्ती तथा झुपडीमा अझैं पनि अभियान गुमनाम नै छ । यो क्षेत्रमा अभियान पुग्छ पुग्दैन बाँकी समय कुर्नै पर्छ ।

दोस्रो अभियानको प्रभावकारिता । अन्तराष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गर्न उक्सिने सरकार अभियान सञ्चालनको दु्रत गतिमा छ । जसले गर्दा अभियानको प्रभावकारीतामा प्रश्न उब्जिएको छ । ‘राजाको काम कहिले जाला घाम’ भनेझैं हामीकहाँ टालटुले काम गरेर सिद्धाउने संस्कार नै बनिसकेको छ । त्यसैले विगतमा सञ्चालित अभियानले कतै यो पनि औपचारिकतामा मात्र सीमित हुने त होइन भन्ने प्रश्न पेचिलो बनेको छ ।

साक्षर अभियानकै कुरा गर्दा सरकारले घर–घरमा रहेका निरक्षर बालबालिकालाई साक्षर बनाउन वर्षेनी विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएको छ । शैक्षिक सत्र शुरू हुने बेलामा हरेक वर्ष भर्ना अभियानलाई सरकारले प्राथमिकतामा राखेपनि दुर्गम तथा ग्रामीण भेगका बस्तीका बालबालिकाको स्कुले साइत भने अझैं जुर्न सकेको छैन । यस्तै, गरिबी तथा विद्यालयमा हुने भेद्भावपूर्ण वातावरणले दलित तथा अन्य पिछडिएका समूदायका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नै छन् । यस्तै, सरकारसँग विद्यालय गएका बालबालिकालाई पनि टिकाइराख्ने कुनै ठोस् प्याकेज छैन । यसले गर्दा भर्ना अभियानमार्फत आएका विद्यार्थी पनि विद्यालय छाड्ने गरेका छन् । ५ देखि १५ सम्मका बालबालिकाका लागि भर्ना अभियान प्रभावकारी बनाउन नसक्ने सरकारको १५ देखि माथिका नागरिकलाई साक्षरता कक्षामा पु¥याउनु फलामको चिउरा चपाए झैं छ । उता, २०६५ सालयता साक्षरता अभियान सञ्चालन भएपनि प्रभावकारिता नभएको र औपचारितामा मात्र सीमित भएको विश्लेषकको ठहर छ । आर्थिक वर्ष २०६५÷०६६ देखि २०६९÷७० सम्ममा ४८ लाख २४ हजार १ सय ६३ जना साक्षर भएको औपाचारिक केन्द्रको तथ्यांकमा छ ।

यसरी साक्षरता अभियानलाई सरकारले प्राथमिकतामा राखेपनि यसको प्रभावकारितामा भने प्रश्न उठ्दै आएको छ । होला सरकारले केही निरक्षरलाई साक्षर बनाउँला । जसले गर्दा केही साक्षर बनेर ल्याप्चे नगलाउलान् । तर, यतिलाई मात्रै गर्व गरेर पनि हुँदैन । केही दिनको कक्षामा अक्षर चनाएर सबै नागरिक सधैं साक्षर रहन पनि सक्दैनन् । सबै नागरिकलाई साक्षर बनाइराख्न सरकारले सर्वप्रथम जगदेखि नै व्यवहारिक र परिणाममुखी शिक्षामा जोड दिनुपर्दछ ।

छोरी भए पुगिसरी

लीलाराज भट्टराई





एलिसा प्रधान इटहरीस्थित कस्तुरी कलेजको बीबीए फोर्थ सेमेस्टरमा पढ्दै छिन्। उनी पढाइमा अब्बल छिन्। एसएलसीमा पनि उनले ८९ प्रतिशत अङ्क ल्याएकी थिइन्। उनी उनका बुबाआमाकी एक मात्र सन्तान हुन्। पढाइमा उनले गरेको प्रगतिमा उनका बुबाआमा औधी खुसी छन्।   उनका बुबा नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्ष याम प्रधान हुन्। प्रधानदम्पती छोरा र छोरी समान हुन् भन्ने मान्यता राख्छ। पत्रकार प्रधान छोरै चाहिन्छ भन्ने पुरातनवादी सोचाइ राख्नुहुँदैन भन्छन्। उनी भन्छन्, 'अहिलेको जमानामा छोरी पो बढी जिम्मेवार देखिन थालेका छन्।'    'एक मात्र सन्तान हुँदा खर्चबर्च पुर्‍याउन पनि सजिलो भएको छ,' प्रधान भन्छन्। 
प्रधान परिवार
राई परिवार
सुप्रिया राई भीमज्वाला राई र चन्द्रा राईका एक मात्र सन्तान हुन्। उनी काठमाडौंमा होटल व्यवस्थापन पढ्दै छिन्।  नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका महासचिव भीम र उनकी श्रीमती चन्द्राले सल्लाह गरेरै एक मात्र सन्तानमा चित्त बुझाएका हुन्। उनीहरू दुवैजनालाई सन्तानमै एक मात्र छोरी भएकोमा गर्व छ।   भीम भन्छन्, 'एक मात्र सन्तान हुँदा हुर्काउने, पालनपोषण गराउने र दीक्षित गराउने काम सजिलो हुन्छ भनेर अर्को सन्तानको रहर गरेनौँ।'आफू र श्रीमती दुवैजनालाई राखेर अर्को सन्तान चाहियो भनेर ससुरालीले दबाब दिएको उनीहरूले बिर्सेका छैनन्।  त्यसो त साथीहरूले पनि एउटा छोरा त चाहिन्छ भनेर जोड गरेका थिए। तर, उनीहरू आफ्नो विचारमा डेग चलेनन्– एक छोरी पुगिसरी।  उहाँहरूलाई कहिल्यै पनि छोराको अभाव महसुस भएको छैन।   भीम भन्छन्, 'छोरा हुनैपर्छ भन्ने पुरानो मान्यता हो। हामीजस्ता युवाले यस्ता रुढिवादी कुरा अस्वीकार गर्नुपर्छ।' छोरालाई बुढेसकालको एक मात्र सहारा भन्ने कुरा राईदम्पती पटक्कै मान्दैनन्। भीमले भने, 'मैले पनि त अहिले बाबुआमा पाल्न सकेको छैन नि। छोरीलाई गर्नुपर्ने दायित्व निर्वाह गरे छोरीले पनि पछि हेर्छन्।' चन्द्रा भन्छिन्, 'माया गर्ने कुरामा छोरी नै अगाडि छन्। छोराले त बरु बेवास्ता गर्ने, घम्क्याउने र दुःख दिने गर्छन्।'    दिनहुँ महँगी बढ्दै गएका बेलामा सन्तानको लालनपालन गर्न र शिक्षादीक्षा दिन छोरी वा छोरा जे भए पनि एक सन्तान मात्र भए पुग्छ भन्ने मान्यता झाँगिँदै गएको छ। नेकपा एमाले सुनसरीका सचिव मोती सुनुवारको पनि एक मात्र सन्तान छोरी छिन्। नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष केशव घिमिरे, मोरङको उर्लाबारीका शिक्षक केशव रेग्मी र मोरङ जाँतेका चन्द्र बुर्जामगर पनि एक छोरीमै रमाएका छन्।    त्यसो त गिरिजाप्रसाद कोइरालाका सन्तानमा पनि एक मात्र छोरी थिइन्। नेकपा एमालेका नेता प्रदीप नेपाल, नेपाली काङ्ग्रेसका नेता शशांक कोइराला, पूर्वअर्थसचिव रामेश्वर खनाल, राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका सन्तानमा पनि एक–एक छोरी मात्र छन्।  बाह्र छोरा, तेह्र नाति बुढाबुढीको धोक्रो काँधैमाथि भनेझैँ धेरै छोराले बुढेसकालमा आमाबाबुको हेरचाह नगर्ने चलन छँदै छ। यसले गर्दा ठाउँठाउँमा वृद्धाश्रम खोल्ने क्रम बढेको छ। छोरा भएका धेरै आमाबाबु वृद्धाश्रममा बसेका छन्। छोराहरूले नहेरेपछि छोरीले आमाबाबुलाई आफ्नै घरमा ल्याएर पालनपोषण गरेका उदाहरण पनि छन्।    छोरा हुँदाहुँदै छोरीको घरमा बसिरहेकी सुनसरीकी एकजना आमा भन्छिन्, 'उहिले हाम्रा पालामा बुढेसकालको सहारा छोरा मात्र हुन्छन् भन्ने थियो, तर अहिले मलाई छोराले भन्दा छोरीले बढी माया दिएर राखेकी छ।' मोरङ उर्लाबारीकी विमला शर्माले आफ्ना चार भाइ दाजुभाइ हुँदाहुँदै पनि बिरामी पर्दा वा केही समस्या हुँदा आफ्ना बुबाआमाको रेखदेख गर्दै आएकी छिन्। उनी भन्छिन्, 'जन्माई, हुर्काई, बढाई, पढाइ गरेर सक्षम बनाउने आमाबुबाको सेवा छोराले मात्र गर्नुपर्छ भन्ने छैन, छोरीले पनि बुढेसकालमा आमाबुबाको सेवा गर्छन्।'    बिहे गरेर घर गएका छोरीले पनि कमाउन थालेपछि आमाबाबुको हेरविचार गर्न थालेका छन्। सुनसरी इटहरीकै प्रताप थापाको परिवारलाई छोरीले विदेशबाट राम्रै सहयोग गरिरहेकी छिन्। थापा भन्छन्, 'अबको जमानामा छोरा र छोरीमा के भेद रह्यो र?' धेरै पढेलेखेका जान्नेबुझ्नेहरू नै पनि वंश धान्न छोरै चाहिन्छ भनेर जिद्दी गरिरहेका पनि छन्। लामो समयदेखि सामन्तवादी चलन रहेकाले छोरै चाहिने मान्यता रहिआएको बताउँछन् संस्कृतिविद् मोदनाथ प्रश्रित।    प्रश्रितका अनुसार सामन्तवादी नेपाली समाजमा लामो समयदेखि छोरालाई सम्पत्तिको उत्तराधिकारी ठानियो र आमाबाबुको पालनपोषण गर्ने जिम्मेवारी पनि उसैको हो भनियो। छोराले बिहे गरेर बुहारी ल्याउने अनि बाबुआमाको स्याहारसुसार गर्ने, छोरीहरू बिहेवारी भएर घर गएपछि पति र ससुराको जिम्मा लिनुपर्ने चलन चलिआयो। कृषि प्रणालीले छोरालाई बढी महत्व दियो।  

बिमल एसियाकै उम्दा खेलाडीः फिफा

असोज ७ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आफ्नो अनलाइन संस्करणमा नेपालका स्टाइकर विमल घर्ती मगरलाई विलक्षण क्षमता भएको खेलाडी भन्दै प्रशंसा गरेको छ ।

फिफाको अनलाइनमा विमलको अन्तरवार्तामा आधारित विश्लेषण प्रकाशित छ ।
विमल सम्बन्धी लेखमा फिफाले विमललाई नेपाली टिमको विलक्षण खेल कौशल भएको प्रतिभावान खेलाडीका रुपमा चित्रित गरेको छ ।

फिफाले विमल सम्बन्धी लेखको सुरुवात नै विमलको स्टारडमको प्रशंगबाट गरेको छ ‘भर्खरै सम्पन्न १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा सहभागी देशका अधिकांश खेलाडीहरु आफ्नो पहिचान बनाउन खेलिरहेका बेला विमल भने पहिले नै एक स्थापित नाम थियो ।’

बेल्जियमको क्लब एन्डरलेक्टको १९ वर्ष मुनिको टोलीबाट व्यवसायिक खेल खेल्ने विमलले एएफसी च्याम्पियनसिप प्रतियोगिताअघि नै महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका खेलाडी भन्दै पिफाले विमलको प्रशंसा गरेको छ । फिफाले विमल सम्बन्धी लेखमा १६ वर्षको कलिलो उमेरमा नै उनले नेपालका सबै उमेर समूह र राष्ट्रिय टिमको हिस्सा बनेको प्रसंग उल्लेख छ । विमलले राष्ट्रिय टिममा डेब्यू गरेको खेलमा नै महत्वपूर्ण गोल गरेका थिए ।

उनले सन् २०१३ को सप्टेम्बरमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले त्यो खेलमा अन्तिम मिनेटमा एक गोल गरेको र त्यही गोलको मद्दतमा नेपाल पाकिस्तानलाई बराबरीमा रोक्न सफल भएको उल्लेख गर्दै फिफाले विमलको खेल क्षमताको प्रशंसा गरेको छ ।

फिफासँगको अन्तरवार्तामा विमलले पाकिस्तान विरुद्धको गोल बारे भनेका छन् ‘मलाई त्यो मेरो पहिलो अन्तराष्ट्रिय गोल गर्दा यो सपना पो हो कि जस्तो लागेको थियो । मैले बारम्बर आफैसँग सोधेँ के मैले साँच्चिकै गोल गरेकै हो त ? म मैदान प्रवेश गर्दा हाम्रो टिम अप्ठ्यारोमा थियो । तर म आफ्नो डेब्यू खेलमा गोल गर्दै टिमलाई सहज अवस्थामा ल्याउन चाहान्थें । मैले प्रहार गरेको बलले गोल रक्षकलाई पन्छ्याउँदै जालि चुमेको त्यो क्षण ऐतिहासिक थियो ।’ फिफाले लेखमा विमलको त्यो गोललाई एक ऐतिहासिक गोल भनेर उल्लेख गरेको छ । मात्र १५ वर्ष ८ महिना ८ दिनको उमेरमा ऐतिहासिक अन्तराष्ट्रिय गोल गर्दै विमल नेपालको कम उमेरमा अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बने ।

विमलले फिफासँगको अन्तरवार्तामा गोल गरेपछिको अनुभव बारेमा भनेका छन् ‘स्टेडियममा रहेका सबै दर्शकहरुले मेरो नाम लिएर हुटिङ गरिरहेका थिए । त्यसमा पनि भोली पल्टको दिन झन सम्झन लायक थियो । हरेक संचार माध्यम र पत्रपत्रिकाहरु मेरो नाम र तस्विरले भरिएका थिए जुन मेरा लागि ठूलो उपलब्धि थियो ।’

महादेशका उदाउँदो उज्ज्वल तारा

फिफाले विमललाई उनको खेल कौशलका आधारमा महादेशीय स्तरमा उज्ज्वल भविष्य भएको खेलाडीका रुपमा चित्रित गरेको छ । १६ वर्ष मुनिको एएफसी छनोट खेलमा विमलले आफ्नो कप्तानीमा गरेको प्रदर्शलाई पनि फिफाले उल्लेख गरेको छ ।

विमलले फिफासँग भनेका छन् ‘काठमाडौंमा भएको छनोट चरणको बहराइनसँगको पहिलो खेलमा म केही नर्भस थिँए, तर दोस्रो खेलसम्ममा मैले आत्मविश्वास बटुलेको थिएँ ।’ छनोट खेलमा नेपाल बहराइनसँग २–० ले पराजित भएको थियो भने इराक लाई २–२ मा रोकेको थियो र तुकिमेनिस्तानलाई ४–० ले पराजित गरेको थियो । विमल प्रतियोगिताका सर्वाधिक गोलकर्ता पनि हुन् । फिफाले हालै भएको १६ वर्षमुनिको एएफसी च्याम्पियनसिपमा नेपालको प्रदर्शन प्रभावशाली भन्दै नेपाली टिमलाई ब्ल्याक हर्सको रुपमा चित्रित गरेको छ । नेपाल समूह चरणबाट माथि जना नसके पनि प्रतियोगितामा प्रभाकारी प्रदर्शनको श्रृंखला भने जारी राखेको फिफाले उल्लेख गरेको छ ।

फिफाले विमाल बारे लेखमा भनेको छ ‘प्रतियोगितमा सहभागि भएका एसियाली राष्ट्रका खेलाडीहरुमा विमल सबैभन्दा खेल कौशलमा माथिल्लो स्तरको खेलाडी हुन् । उम्दा खेलाडी भएकाले उनले अन्तराष्ट्रिय स्तरमा स्थापित हुन खोज्नु स्वाभाविक हो ।’

फिफासँगको अन्तरवार्तामा विमलले आफु व्यवसायीक खेलाडी बन्न चाहेको बताएका छन् । उनले भनेका छन् ‘मेरो लक्ष्य भनेको व्यवसायीक खेलाडीक बनेर युरोपामा खेल्ने हो । म आफुलाई युरोपमा एउटा राम्रो खेलाडीका रुपमा स्थापित गर्न चाहन्छु , यसले अरु नेपाली खेलाडीलाई पनि अवसर प्रदान गर्न सहयोगी बन्ने आश लिएको छु ।’